ग्लोबल आइएमई बैंकले थप दुई शाखारहित बैंकिङको सुरुवात बैंकिङ्ग सेवा संख्या दुई सय २० पुगे !
ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ दुई शाखारहित बैंकिङ सेवासञ्चालनमा गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर १, अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा साङ्गे शेर्पा र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर १५, ज्यामिरगढीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा तीर्थराज काफ्लेलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन व्यवस्था समेत गरेको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ शाखा सञ्जाल सहित २ सय ३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय २० शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गरिरहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सदा तत्पर रहेको बैंकको भनाइ रहेको छ ।थप दुई वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या दुई सय २० पुगेको छ ।