काठमाडाैं । सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी समयसापेक्ष र व्यावसायिक संगठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अगाडि बढाएको जनाएको छ ।
७१ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले सरुवा–बढुवालाई प्रणालीगत बनाउँदै हाकिमलाई रिझाउने प्रवृत्तिको अन्त्य गरिने र सेवा अवधिसम्बन्धी विषयमा समेत समयानुकूल परिमार्जन गरिने घोषणा गरेका हुन् ।
शुक्रवार आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण तथा ७१ औँ प्रहरी दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत प्रहरीमा आवश्यक दरबन्दी थप गर्न प्रश्ताव अघि बढाइएको जानकारी दिए ।
अनुसन्धान पद्धतिलाई वैज्ञानिक बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर अनुसन्धान र डीएनए प्रोफाइलिङजस्ता आधुनिक प्रविधिमा लगानी बढाउनु सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।
गृहमन्त्रीले हालै नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीस्तरीय बैठक र भारतीय समकक्षीसँगको वार्ताबारे स्मरण गर्दै सीमापार तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सूचना आदानप्रदान र प्रविधि सहकार्यलाई तिब्र बनाइएको उल्लेख गरे । बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न क्षेत्रीय संयन्त्रबाट प्राप्त अवसरलाई आन्तरिक सुरक्षा सुदृढीकरणमा अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘नेपाल प्रहरीलाई आधुनिक, सक्षम र व्यावसायिक बनाउन नयाँ प्रहरी विधेयक, सेवा सुविधामा सुधार, निष्पक्ष सरुवा–बढुवा तथा प्रविधिमा लगानीलाई सरकारले प्राथमिकता दिएको छ ।
प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्छ । साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक छ ।’
गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीको सेवा–सुविधातर्फ आवास, स्वास्थ्य तथा जोखिम भत्ताको दायरा फराकिलो बनाइँदै लगिएको स्पष्ट पार्दै उनले भदौमा आएको भीषण बाढीपहिरो तथा प्राकृतिक विपद्मा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई खाजा तथा जोखिम भत्ता उपलब्ध गराइएको जानकारी दिए ।
आगामी दिनमा अवकाशप्राप्त प्रहरीको ज्ञान, सीप र अनुभवलाई समेत राष्ट्रहितमा सदुपयोग गर्ने नीति ल्याइने उनले बताए ।