Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण पदमार्गका विदेशी पर्यटक बीचबाटै फर्किन थाले


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १३ २०८३
  • 684
    SHARES

लमजुङ । निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटकले आफ्नो यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् । मौसममा आएको खराबी, लगातारको वर्षा तथा पदमार्गमा बढ्दै गएको जोखिमका कारण थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायतका गन्तव्यमा पुग्ने योजनामा रहेका पर्यटकले बीच बाटोबाटै यात्रा स्थगित गर्न थालेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार पछिल्लो एक सातामा मात्रै २४६ जना विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन् । असोज ६ गतेदेखि १२ गतेसम्म फर्किएका पर्यटकमध्ये १५१ जना पुरुष र ९५ जना महिला रहेका छन् ।

केही दिनअघिसम्म धारापानी हुँदै दैनिक ठूलो सङ्ख्यामा विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए । इन्चार्ज गुरुङका अनुसार त्यस समयमा दैनिक १०० देखि १५० जनासम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए । तर पछिल्लो समय मौसममा आएको प्रतिकूलतासँगै पर्यटकको आवागमनमा उल्लेख्य कमी आएको छ ।

अहिले धारापानी हुँदै मनाङतर्फ जाने पर्यटकको सङ्ख्या दैनिक एक–दुई जनामा सीमित भएको छ । त्यसको विपरीत मनाङतर्फ पुगेका अधिकांश पर्यटक सुरक्षित स्थानतर्फ फर्किन थालेका छन् ।

इन्चार्ज गुरुङले भने, “केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए । अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन् ।”

अन्नपूर्ण चक्रीय पदमार्गमा अहिले मुख्य चुनौती मौसम बनेको छ । लगातारको वर्षाका कारण कतिपय स्थानमा पदमार्ग चिप्लो हुनुका साथै पहिरो तथा बाटो अवरुद्ध हुने जोखिम बढेको छ । उच्च हिमाली क्षेत्रमा मौसम थप प्रतिकूल बन्न सक्ने भएकाले पर्यटकले जोखिम मोलेर निर्धारित गन्तव्यसम्म पुग्नुभन्दा यात्रा छोट्याएर फर्किने निर्णय गरेका हुन् ।

विशेषगरी थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङतर्फ जाने पर्यटकका लागि मौसमको अवस्था महत्वपूर्ण मानिन्छ । समुद्री सतहबाट पाँच हजार ४१६ मिटरको उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गर्दा मौसम प्रतिकूल भएमा यात्रा थप जोखिमपूर्ण बन्न सक्छ । त्यसैले पदयात्रामा निस्किएका पर्यटकले मौसमको अवस्था र पदमार्गको सुरक्षालाई प्राथमिकतामा राख्दै आफ्नो यात्रा परिवर्तन गर्ने गरेका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग नेपालको प्रमुख पर्यटकीय पदयात्रा मार्गमध्ये एक हो । लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने यो पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीका विभिन्न भूभाग हुँदै जाने गर्छ । हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति तथा जैविक विविधताका कारण यो मार्ग विदेशी पर्यटकमाझ लामो समयदेखि लोकप्रिय रहँदै आएको छ ।

यस पदमार्गमा विशेषगरी मनाङ र मुस्ताङ क्षेत्रका हिमाली दृश्य, गुरुङ तथा तिब्बती संस्कृति, प्राकृतिक झरना, हिमाल र स्थानीय बस्ती पर्यटकका मुख्य आकर्षण हुन् । पदयात्राका क्रममा पर्यटकले फरक–फरक उचाइ र भौगोलिक अवस्थाको अनुभव गर्न पाउने भएकाले अन्नपूर्ण क्षेत्र नेपालको महत्वपूर्ण पदयात्रा गन्तव्यका रूपमा परिचित छ ।

तर पछिल्लो समय मौसममा आएको परिवर्तनले पदयात्रा व्यवसायमा प्रत्यक्ष असर पारेको छ । पर्यटकको आवागमन घटेसँगै पदमार्ग आसपासका होटल, रेस्टुरेन्ट, चिया पसल तथा अन्य पर्यटन व्यवसायमा समेत प्रभाव पर्न सक्ने स्थानीय व्यवसायीको भनाइ छ ।

सामान्य अवस्थामा पर्यटकीय मौसम सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको चहलपहल बढ्ने गर्छ । तर यसपटक निरन्तरको वर्षा र मौसममा देखिएको अस्थिरताका कारण पर्यटकको यात्रा प्रभावित भएको हो ।

सम्बन्धित निकायले पदमार्गको अवस्था, मौसम तथा जोखिमयुक्त स्थानबारे पर्यटकलाई नियमित जानकारी दिनुका साथै सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । मौसम अनुकूल भएपछि पर्यटकको आवागमन पुनः बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४