Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्द्रजात्रा : माथिल्लो टोलमा गणेश, भैरव र कुमारीको रथयात्राको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १० २०८३
  • 722
    SHARES

काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा अन्तर्गत आज माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्राको तयारी गरिएको छ। काठमाडौं उपत्यकाको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको इन्द्रजात्रामा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरिँदै आएका छन्।

इन्द्रजात्राको मुख्य दिन शुक्रबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सम्पन्न भएको थियो। रथयात्रामा स्थानीयवासी, भक्तजन तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। जात्राका क्रममा विभिन्न स्थानमा परम्परागत बाजागाजा, नाचगान तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिने भएकाले काठमाडौंको पुरानो सहर क्षेत्र उत्सवमय बन्ने गरेको छ।

गुठी संस्थान काठमाडौं शाखाका प्रमुख पवित्राकुमारी पाण्डेका अनुसार भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरेसँगै इन्द्रजात्राको औपचारिक सुरुआत भएको हो। इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने लामो तथा महत्वपूर्ण जात्रामध्ये एक हो।

जात्राको अर्को महत्वपूर्ण कार्यक्रमका रूपमा असोज १३ गते मंगलबार नानीचा यात्रा सञ्चालन गरिनेछ। उक्त दिन महिलाले मात्र रथ तान्ने परम्परा रहेको छ। नानीचा यात्राले इन्द्रजात्राको धार्मिक तथा सांस्कृतिक परम्परामा विशेष महत्व राख्दै आएको छ।

सोही दिन बेलुकी राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार क्षेत्रमा पुगेर जीवित देवी कुमारीबाट टीका तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ। टीका तथा प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत रहेको छ। यो परम्परालाई इन्द्रजात्राको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक विधिका रूपमा लिइन्छ।

इन्द्रध्वजपातनपछि जात्रा समापन

असोज १३ गते राति ९ः२५ बजे इन्द्रध्वजपातन गरिनेछ। इन्द्रध्वजपातनसँगै दुई हप्ताभन्दा लामो समयदेखि सञ्चालन हुँदै आएको इन्द्रजात्राको औपचारिक समापन हुनेछ।

इन्द्रध्वजपातनपछि जात्राका लागि स्थापना गरिएको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती नदी किनारमा लगेर सेलाउने परम्परा छ। परम्पराअनुसार लिङ्गोलाई मानिसहरूले घिसार्दै वाग्मती किनारसम्म लैजाने गरिन्छ।

इन्द्रजात्राको प्रक्रिया भने लिङ्गोका लागि आवश्यक रुख छनोट तथा काट्न गरिने वनयात्राबाट सुरु हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको साइतअनुसार वनयात्रा गरी रुख काट्ने, त्यसलाई लिङ्गोका रूपमा तयार गर्ने र नगर प्रवेश गराउनेलगायतका धार्मिक विधि पूरा गरिन्छ। त्यसपछि भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ।

प्रताप मल्लको पालादेखिको परम्परा

इन्द्रजात्रा काठमाडौंको इतिहास, संस्कृति र धार्मिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। इतिहासविद्हरूका अनुसार इन्द्रजात्रा राजा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ। यद्यपि इन्द्रजात्रामा रथयात्राको परम्परा भने राजा गुणकामदेवको पालादेखि सुरु भएको मानिन्छ।

इन्द्रजात्राका क्रममा वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको विधिपूर्वक पूजा आराधना समेत गरिन्छ। नेपालमा कृषि तथा वर्षासँग जोडिएको धार्मिक विश्वासका कारण इन्द्रजात्रालाई विशेष महत्वका साथ मनाउने गरिएको छ।

जात्राको अवसरमा गणेश, भैरव र कुमारीको रथयात्राका अतिरिक्त लाखे नाच, दशअवतार नाच लगायत विभिन्न परम्परागत नाच, सांस्कृतिक झाँकी, बाजागाजा तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ।

काठमाडौंको ऐतिहासिक बस्तीमा पुस्तौँदेखि चल्दै आएको यो पर्वले धार्मिक आस्था मात्र नभई काठमाडौंको मौलिक कला, संस्कृति, जात्रा परम्परा र सामाजिक एकतालाई समेत निरन्तरता दिँदै आएको छ। विभिन्न समुदायको सहभागितामा मनाइने इन्द्रजात्राले काठमाडौंको सांस्कृतिक पहिचानलाई देश तथा विदेशमा समेत चिनाउँदै आएको छ।

इन्द्रजात्राका विभिन्न दिनमा हुने रथयात्रा तथा सांस्कृतिक गतिविधि हेर्न काठमाडौंका विभिन्न क्षेत्रबाट सर्वसाधारण तथा पर्यटकसमेत सहभागी हुने गरेका छन्। यस वर्ष पनि जात्राका विभिन्न कार्यक्रमका कारण हनुमानढोका तथा आसपासका ऐतिहासिक क्षेत्रहरूमा विशेष चहलपहल देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४