Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लगातारको वर्षाले चितवनको धानबालीमा जोखिम, परागसेचनमा असरदेखि दाना फोकटा हुने चिन्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १० २०८३
  • 646
    SHARES

काठमाडौं । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने अवस्थामा रहेको धानबालीमा विभिन्न समस्या देखिन थालेपछि किसान चिन्तित भएका छन्। धानमा दाना लाग्ने समयमा लगातार पानी परिरहेकाले परागसेचन प्रभावित हुनुका साथै दानामा दाग लाग्ने र फोकटा दाना बस्ने जोखिम बढेको कृषि प्राविधिकले बताएका छन्।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार अहिले जिल्लाका विभिन्न क्षेत्रमा धानबाली पसाउने, फूल खेल्ने तथा दाना लाग्ने अवस्थामा छ। यही समयमा लगातार वर्षा हुँदा धानको फूल झर्ने, परागसेचनमा अवरोध आउने र त्यसपछि फोकटा दाना बस्ने समस्या देखिन सक्छ।

उनका अनुसार वर्षाका कारण धानको दानामा दाग लाग्ने रोगसमेत निम्तिन सक्छ। उनले लगातारको पानीले धानको फूल झार्ने र परागसेचन प्रभावित हुँदा उत्पादनमा असर पुग्न सक्ने बताए।

जिल्लाका विभिन्न पालिकामा धानमा समस्या देखिन थालेपछि कृषि विकास कार्यालयले स्थानीय तहका कृषि प्राविधिकसँग समन्वय गरेर खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालेको छ। बढी समस्या देखिएका क्षेत्रमा किसानलाई तत्काल प्राविधिक सेवा र आवश्यक सुझाव उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख कँडेलका अनुसार भरतपुर महानगरपालिका–१४ पकौडीमा बाली उपचार शिविर सञ्चालन गरिएको छ। त्यस्तै, समस्या देखिएका अन्य क्षेत्रमा पनि आवश्यकता र अवस्थाका आधारमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ। रत्ननगर क्षेत्रमा समेत बाली उपचार शिविर सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

कृषि विकास कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीका अनुसार पछिल्लो समय धानमा देखिएका समस्या लिएर कार्यालयमा आउने किसानको सङ्ख्या बढेको छ। कार्यालय आसपासका किसान प्रत्यक्ष रूपमा कार्यालयमा आउने गरेका छन् भने टाढाका किसानले सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकमार्फत आफ्नो समस्या जानकारी गराउने गरेका छन्।

उनका अनुसार चितवनमा अहिले धानमा एउटै प्रकारको रोग मात्र देखिएको छैन। विभिन्न रोग, किराको प्रकोप तथा खाद्यतत्वको कमीका कारण धानमा समस्या देखिएको छ। गबारो, पात बेरुवा, पात मरुवा, पातको फेद डढुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद डढुवालगायतका समस्या विभिन्न क्षेत्रमा देखिएको उनले बताइन्।

धानबालीमा रोग तथा किराको समस्या देखिए पनि हालसम्म अवस्था नियन्त्रणबाहिर भने नगएको कृषि प्राविधिकहरूको भनाइ छ। स्थलगत अवलोकन तथा किसानबाट प्राप्त विवरणका आधारमा समस्या भएका क्षेत्रमा उपचार र आवश्यक सावधानी अपनाउँदा रोग नियन्त्रण गर्न सकिने अवस्था रहेको कार्यालयले जनाएको छ।

विशेषगरी सावाँ मन्सुली र सावित्री जातको धानमा समस्या बढी देखिएको बताइएको छ। केही क्षेत्रमा हर्दिनाथ–६ जातको धानमा समेत समस्या देखिन थालेको कृषि विकास कार्यालयले जनाएको छ।

धानमा समस्या देखिनुको कारण मौसम मात्र नभई खाद्यतत्वको कमी पनि रहेको कृषि प्राविधिकहरूले बताएका छन्। विशेषगरी धानबालीमा पोटास र जिङ्कको कमी देखिएको बाली संरक्षण अधिकृत केसीले बताइन्। किसानले मुख्य रूपमा डीएपी र युरियामा बढी निर्भर हुँदा धानलाई आवश्यक पर्ने अन्य खाद्यतत्वको कमी हुन सक्ने उनको भनाइ छ।

यस वर्ष धान रोपाइँको समयदेखि नै वर्षा बढी भएको र पछिल्लो समय लगातार पानी पर्ने तथा बीचमा घाम लाग्ने क्रम दोहोरिँदा धानबालीमा विभिन्न रोग तथा किराको समस्या बढेको कृषि प्राविधिकहरूले बताएका छन्। लगातार पानी परेपछि खेतमा पानी जम्ने र त्यसपछि तापक्रम बढ्दा पनि बालीमा रोगको अनुकूल वातावरण बन्न सक्ने उनीहरूको भनाइ छ।

कृषि विकास कार्यालयले पानी निकासको व्यवस्था गर्न मिल्ने खेतमा तत्काल निकासको व्यवस्था गर्न किसानलाई सुझाव दिएको छ। खेतमा लामो समयसम्म पानी जमिरहँदा धानको जरासहित बोटको विकासमा असर पर्न सक्ने भएकाले सम्भव भएका स्थानमा पानीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको हो।

त्यस्तै, धानमा देखिने रोग तथा किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक विधिलाई प्राथमिकता दिन कृषि प्राविधिकहरूले किसानलाई सुझाव दिएका छन्। रासायनिक विषादी प्रयोग गर्नुपर्ने अवस्था आएमा कृषि प्राविधिकको सल्लाहअनुसार सिफारिस गरिएको विषादी र सुरक्षित मात्रामात्र प्रयोग गर्न आग्रह गरिएको छ।

कार्यालयले रोग तथा किराको समस्या देखिएका क्षेत्रको अवस्थाअनुसार स्थानीय तहका कृषि प्राविधिकसँग समन्वय गरी उपचार तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको जनाएको छ। किसानको समस्या खेतमै पुगेर पहिचान गर्ने र तत्काल आवश्यक व्यवस्थापनका उपाय सुझाउने कामलाई प्राथमिकता दिइएको कार्यालयको भनाइ छ।

लगातारको वर्षाले धानको उत्पादनमा तत्काल कस्तो असर पर्छ भन्ने कुरा मौसमको अवस्था, रोगको फैलावट, धानको जात र बालीको अवस्थालगायतका विषयमा निर्भर हुने कृषि प्राविधिकहरूले बताएका छन्। अहिले नै ठूलो क्षतिको निष्कर्ष निकाल्नुभन्दा प्रभावित क्षेत्रमा नियमित अनुगमन र समयमै रोग तथा किराको व्यवस्थापन आवश्यक रहेको उनीहरूको सुझाव छ।

कृषि विकास कार्यालयले किसानलाई धानबालीमा असामान्य लक्षण देखिएमा आफैंले जथाभावी विषादी प्रयोग नगरी नजिकको कृषि प्राविधिक वा सम्बन्धित स्थानीय तहको कृषि शाखामा जानकारी गराउन आग्रह गरेको छ। खेतमै पुगेर बालीको अवस्था हेरी उपयुक्त उपचार र व्यवस्थापनका उपाय सिफारिस गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४