Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०८३
  • 722
    SHARES

काठमाडौं । भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका बाँकेका प्रभावित परिवार सास वा लासको टुङ्गो नलाग्दा गहिरो पीडामा छन्। आफन्त जीवित छन् कि बाढीमा परेर मृत्यु भयो भन्ने यकिन हुन नसकेपछि उनीहरू सामाजिक तथा धार्मिक संस्कारसमेत गर्न नसक्ने अवस्थामा पुगेका छन्।

नेपालगन्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बाढीमा एकै परिवारका तीन जना आफन्त गुमाएका छन्। रसुवा भन्सार कार्यालय, टिमुरे क्षेत्रमा कार्यरत ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शनका लागि पुगेका १९ वर्षीय छोरा दीपक बाढीसँगै बेपत्ता भएका हुन्।

बेपत्ता भएको एक महिना पुग्न लाग्दासमेत उनीहरूको कुनै जानकारी प्राप्त नभएको अनलालले बताए। आफन्त फर्केर आउलान् भन्ने आशा क्रमशः कमजोर हुँदै गए पनि शवसमेत फेला नपर्दा परिवार थप अन्योलमा परेको उनको भनाइ छ।

“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ। न सास पाइयो, न लास। दोधारमै समय बित्यो,” अनलालले भने, “डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा थियो, त्यो पनि प्राप्त भएको छैन। अब कसरी मृत्यु संस्कार गर्ने भन्ने अन्योलमा छौँ।”

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाइएपछि दाजु, भाउजू र भतिजाको अवस्था यकिन हुने आशा परिवारमा जागेको थियो। तर परीक्षणको परिणाम आउन ढिलाइ हुँदा परिवारको अन्योल कायमै छ।

अनलालले नेपालगन्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका छन्। सरकारले डीएनए परीक्षणको रिपोर्टसहित बेपत्ता व्यक्तिका सम्बन्धमा आधिकारिक जानकारी दिए आफूहरूलाई सामाजिक संस्कार अघि बढाउन सहज हुने उनले बताए।

“सास वा लास केहीको अत्तोपत्तो छैन। के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ,” उनले भने, “हामी डीएनए रिपोर्टको प्रतीक्षामा छौँ। सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ।”

बुढेसकालको सहारा मानिएका एक्ला छोरा तथा जीवनका आधार बनेका दाजु–भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल र उनकी श्रीमती कर्णसरी रोकाय गहिरो पीडामा छन्। घरमा आफन्त फर्किने आशा र घटनाको यथार्थ थाहा पाउने प्रतीक्षाबीच दिन बितिरहेको छ। सासको आशा कमजोर हुँदै गए पनि शवसमेत फेला नपर्दा पीडा झनै बढेको अनलालले बताए।

यसैगरी, नेपालगन्ज उपमहानगरपालिका–२० थपुवागाउँबाट रोजगारीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि सोही बाढीमा परी बेपत्ता भएका छन्। उनीहरूका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय अश्विन र नौ वर्षीया स्मारिका अहिले आमाबुबा फर्किने आशामा दिन बिताइरहेका छन्।

आमाबुबा नै बेपत्ता भएपछि बालबालिकाको जीवनमा ठूलो संकट आएको छ। परिवारको खर्च जुटाउन घरबाट टाढा गएका अभिभावकको अवस्थासमेत यकिन हुन नसक्दा उनीहरू थप पीडामा छन्। शव फेला नपरेका कारण परिवारले अहिलेसम्म मृत्यु संस्कारसमेत गर्न सकेको छैन।

नेपालगन्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता आफन्तको सास वा लासको टुङ्गो नलाग्दा प्रभावित परिवारलाई मृत्यु संस्कारका विषयमा निर्णय लिन कठिन भइरहेको बताए। उनले बेपत्ताको खोजीलाई निरन्तरता दिनुका साथै सहाराविहीन बनेका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक समन्वय तथा सहयोग गरिने बताए।

भोटेकोशी बाढीपछि बेपत्ता आफन्तको खोजीमा गएका परिवार तथा सम्बन्धित व्यक्तिहरूबाट शव पहिचानका लागि विभिन्न स्थानमा डीएनए नमुना सङ्कलन गरिएको छ। चितवन र काठमाडौंस्थित अस्पताल तथा बाँकेका विभिन्न स्थानबाट संकलित नमुना परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले जानकारी दिए।

उनका अनुसार बाँकेका १६ जनाको डीएनए परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा नमुना सङ्कलन गरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। डीएनए परीक्षणबाट फेला परेका शवको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाढीमा परी बाँकेका २३ जना हालसम्म बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए। उनका अनुसार हालसम्म तीन जनाको शव सनाखत भएको छ भने ३२ जनालाई सकुशल उद्धार गरिएको छ।

बेपत्ता आफन्तको अवस्था यकिन हुन नसक्दा प्रभावित परिवारका लागि प्राकृतिक विपत्तिको पीडा अझ लामो बनेको छ। शव फेला नपर्दा अन्तिम संस्कारसमेत गर्न नसक्ने अवस्थाले उनीहरूलाई मानसिक, सामाजिक र पारिवारिक रूपमा थप कठिनाइमा पारेको छ। त्यसैले बेपत्ताको खोजी, शव पहिचान तथा डीएनए परीक्षणको प्रक्रिया छिटो टुङ्ग्याएर परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउनु उनीहरूको तत्कालको मुख्य आवश्यकता बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४