काठमाडौं । बाजुरा जिल्ला अदालतले अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। अदालतले हत्या प्रकरणमा संलग्न रहेको ठहर गर्दै ६ जनालाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाएको हो।
जन्मकैदको सजाय पाउनेमा शेरबहादुर अयडी, सागर अयडी, लोकेश अयडी, खेमराज अयडी, जीवन अयडी र धनराज थापा रहेका छन्। अदालतले दोषी ठहर भएका सबै ६ जनाबाट जनही १ लाख रुपैयाँ क्षतिपूर्ति समेत भराउने फैसला गरेको छ।
यस मुद्दामा प्रतिवादी बनाइएका २४ जनामध्ये १८ जनालाई भने अदालतले सफाइ दिएको जनाइएको छ। यससँगै लामो समयदेखि अदालतमा विचाराधीन रहेको चेतनदीप अयडी हत्या प्रकरणमा जिल्ला अदालतबाट फैसला आएको हो।
चेतनदीप अयडीको हत्या २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौं क्षेत्रमा भएको थियो। निर्वाचनका क्रममा अयडीको घर घेरा हालेर कुटपिट गरिएको र सोही क्रममा उनको मृत्यु भएको अभियोगमा २४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
घटनापछि लामो समयसम्म अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढेको थियो। करिब चार वर्षपछि मुद्दाको सुनुवाइ तथा बहस टुंगिएसँगै बाजुरा जिल्ला अदालतले फैसला सुनाएको हो।
मुद्दाको सुनुवाइ बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा भएको थियो। जाहेरवाला चेतनका बुबा गगन अयडीका तर्फबाट सरकारी वकिलसहित वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट पनि कानून व्यवसायीहरूले अदालतमा बहस गरेका थिए।
यसअघि मुद्दाका २४ जना प्रतिवादीमध्ये ७ जना पुर्पक्षका लागि थुनामा, ११ जना धरौटीमा र ६ जना साधारण तारिखमा रहेको अदालतसम्बन्धी विवरण सार्वजनिक भएको थियो।
निर्वाचनकै क्रममा भएको चेतनदीप अयडीको हत्या तथा त्यसपछि लामो समयसम्म अदालतमा विचाराधीन रहेको मुद्दाले बाजुराको राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत चासो सिर्जना गरेको थियो।
अदालतको फैसलासँगै करिब चार वर्षदेखि विचाराधीन रहेको चेतनदीप अयडी हत्या प्रकरणले जिल्ला अदालतबाट कानुनी निष्कर्ष पाएको छ। फैसालाले एकातर्फ दोषी ठहर भएका व्यक्तिमाथि सजाय र क्षतिपूर्तिको व्यवस्था गरेको छ भने अर्कोतर्फ मुद्दामा प्रतिवादी बनाइएका १८ जनालाई सफाइ दिएको छ।