काठमाडौँ । मुस्ताङमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असर, स्थानीय तहको भूमिका तथा जलवायु अनुकूलनका विषयमा छलफल गर्न ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ मंगलबारदेखि सुरु हुँदैछ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, विज्ञ तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ।
सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंगलबार गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा सहभागी हुन ४ सय २१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझसम्म मुस्ताङ पुगिसकेका छन्।
घरपझोङ गाउँपालिकाका अनुसार सोमबार साँझसम्म सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेका छन्। हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव, त्यसबाट सिर्जित चुनौती र स्थानीयस्तरबाट गर्न सकिने अनुकूलनका उपायबारे सम्मेलनमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
स्थानीय समुदाय सम्मेलन व्यवस्थापनमा परिचालन
सम्मेलनलाई व्यवस्थित बनाउन घरपझोङ गाउँपालिकाले स्थानीय समुदायलाई समेत सक्रिय रूपमा परिचालन गरेको छ। गाउँपालिकाका पाँचवटै वडाअन्तर्गत रहेका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई सम्मेलन व्यवस्थापनमा परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो।
स्थानीय समुदायको सहभागिताले सम्मेलनमा आउने अतिथिको व्यवस्थापनदेखि कार्यक्रम सञ्चालनसम्म सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ। सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी स्थानीय समुदाय, कृषि, पर्यटन र वातावरणसँग जोड्ने प्रयास गरिएको जनाइएको छ।
पृथ्वी रोइरहेको आकृतिले जलवायु परिवर्तनको सन्देश
सम्मेलनस्थलमा जलवायु परिवर्तनले पृथ्वी तथा हिमाली क्षेत्रमा पारेको असरबारे जनचेतना फैलाउने उद्देश्यले विशेष आकर्षणसमेत तयार गरिएको छ।
सम्मेलनस्थलभित्र २८ फिट उचाइको ‘पृथ्वी रोइरहेको’ गोलाकार बेलुन आकृति राखिएको छ। जलवायु परिवर्तनका कारण पृथ्वीमा बढ्दै गएको तापक्रम, हिमाली क्षेत्रमा देखिएका वातावरणीय परिवर्तन तथा त्यसले मानव जीवन र प्राकृतिक प्रणालीमा पारिरहेको असरलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न उक्त आकृति राखिएको हो।
मुस्ताङजस्तो हिमाली जिल्लामा जलवायु परिवर्तनका प्रभाव प्रत्यक्ष रूपमा देखिन थालेकाले सम्मेलनस्थलमा राखिएको उक्त आकृतिले सहभागी तथा सर्वसाधारणलाई वातावरण संरक्षण र जलवायु परिवर्तनका विषयमा सचेत गराउने अपेक्षा गरिएको छ।
स्थानीय कृषि उत्पादनको प्रदर्शनी
सम्मेलनलाई मुस्ताङका स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने अवसरका रूपमा समेत प्रयोग गरिने भएको छ। गाउँपालिकाका अनुसार मुस्ताङमा उत्पादन हुने कृषि तथा स्थानीय सामग्रीको प्रचारप्रसार र बजारीकरणका लागि ५० भन्दा बढी स्टल राखिएका छन्।
स्टलमा मुस्ताङमा उत्पादन हुने विभिन्न कृषि उपज, स्थानीय उत्पादन तथा मौलिक सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्। यसबाट सम्मेलनमा सहभागी देशभरका जनप्रतिनिधि तथा अतिथिलाई मुस्ताङको स्थानीय उत्पादनबारे जानकारी गराउनुका साथै आगामी दिनमा बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जलवायु परिवर्तनका विषयमा घोषणापत्र जारी गरिने
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहको भूमिकासम्बन्धी घोषणापत्र जारी गर्ने तयारी गरेको छ।
सम्मेलनमा विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, कृषि क्षेत्रमा परेको प्रभाव, पानीका स्रोतमा आएको परिवर्तन, प्राकृतिक विपद्को जोखिम, पर्यटन क्षेत्रमा देखिएका चुनौती तथा स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
स्थानीय तहहरू जलवायु परिवर्तनबाट प्रभावित नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले स्थानीय सरकारको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने विषय सम्मेलनमा प्राथमिकताका साथ उठ्ने जनाइएको छ।
हिमाली क्षेत्रमा जलवायु संकटबारे साझा धारणा बनाउने प्रयास
जलवायु परिवर्तनको प्रभाव विश्वव्यापी भए पनि यसको असर हिमाली क्षेत्रमा तुलनात्मक रूपमा गम्भीर देखिँदै गएको अवस्थामा मुस्ताङमा आयोजना गरिएको सम्मेलनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमाली पारिस्थितिक प्रणालीमा भइरहेको परिवर्तन, पानीका स्रोतमा देखिएको प्रभाव तथा कृषि र पर्यटनमा परेको असरबारे स्थानीय तहका प्रतिनिधिबीच अनुभव आदानप्रदान गर्ने अवसर सम्मेलनले प्रदान गर्नेछ।
देशका विभिन्न भूगोलबाट आएका जनप्रतिनिधिले आफ्ना स्थानीय क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभाव र त्यसको सामना गर्न अपनाइएका अभ्यासबारे जानकारी आदानप्रदान गर्नेछन्। यसबाट स्थानीय तहबीच सहकार्य र अनुभव आदानप्रदान बढ्नुका साथै जलवायु अनुकूलनका कार्यक्रमलाई स्थानीय आवश्यकतासँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुई दिनसम्म सञ्चालन हुने ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ ले जलवायु परिवर्तनका चुनौतीसँगै स्थानीय उत्पादन, वातावरण संरक्षण र स्थानीय सरकारको भूमिकालाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ। सम्मेलनबाट जारी हुने घोषणापत्रले आगामी दिनमा स्थानीय तहमा जलवायु अनुकूलन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्न नीतिगत आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।