Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीका शव पहिचान गर्न तीव्र डिएनए परीक्षण, विदेशी विज्ञसहित प्रहरीको टोली २४ घण्टा खटियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २७ २०८३
  • 1K
    SHARES

काठमाडौँ । भोटेकोशी बाढी तथा त्यसबाट सिर्जित विपद्मा मृत्यु भएका व्यक्तिको शव पहिचान गर्ने कार्यलाई तीव्रता दिइएको छ । बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका नमुनाका आधारमा नेपालका विभिन्न विधिविज्ञान प्रयोगशालामा डिएनए परीक्षणलाई तीव्र रूपमा अघि बढाइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा शव पहिचानका लागि डिएनए परीक्षण भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले विशेषज्ञ टोलीले अत्यन्त सावधानीपूर्वक परीक्षण गरिरहेको प्रहरीले जनाएको छ । परीक्षण प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरीका विशेषज्ञलाई सहयोग गर्न भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञसमेत नेपाल आएका छन् ।

प्रहरीका अनुसार केन्द्रीय विधिविज्ञान प्रयोगशालामा भारतीय तथा दक्षिण कोरियाली विज्ञले सहयोग गरिरहेका छन् भने खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ विज्ञको प्राविधिक सहयोग रहेको छ । स्वदेशी जनशक्तिसँगै विदेशी विशेषज्ञको सहयोग लिएर परीक्षणको कामलाई छिटो सम्पन्न गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

चारवटा मेसिनबाट परीक्षण

डिएनए परीक्षणका लागि हाल चारवटा मेसिन सञ्चालनमा ल्याइएको छ । आवश्यक तयारी पूरा गरेपछि एउटा मेसिनले करिब ९० मिनेटमा एउटा नमुनाको परीक्षण नतिजा निकाल्न सक्ने बताइएको छ । तर एउटा नमुनाको परीक्षण सम्पन्न भएपछि अर्को नमुना परीक्षण गर्नुअघि मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने भएकाले प्रयोगशालाको क्षमता सीमित हुने गरेको छ ।

विशेषज्ञका अनुसार मृतकको हड्डी र दाँतबाट डिएनए निकालेर परीक्षण गर्दा भने सामान्य नमुनाभन्दा बढी समय लाग्न सक्छ । हड्डी र दाँतबाट डिएनए निकाल्दा ती अङ्गलाई सुरुमा धुलो बनाइन्छ । त्यसपछि उक्त धुलोलाई विशेष रासायनिक प्रक्रियामा राखिन्छ र करिब ७२ घण्टापछि मात्र थप परीक्षण प्रक्रियामा लैजान सकिन्छ ।

यस कारण कतिपय शवको पहिचान तत्काल गर्न कठिन हुने गरेको छ । विशेषगरी लामो समय पानी, माटो वा अन्य वातावरणीय प्रभावमा रहेका शवबाट डिएनए निकाल्ने प्रक्रिया थप जटिल हुने विशेषज्ञहरूको भनाइ छ ।

एक हजार २३० शव माटोमुनि व्यवस्थापन

शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

शव पहिचानका लागि मृतक तथा उनीहरूका आफन्तबाट ठूलो सङ्ख्यामा डिएनए नमुना सङ्कलन गरिएको छ । हालसम्म मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

प्रहरीले शवको पहिचान सुनिश्चित भएपछि मात्र सम्बन्धित परिवारलाई कानुनी प्रक्रिया पूरा गरी शव हस्तान्तरण गर्ने तयारी गरेको छ । पहिचान हुन नसकेका शवको नमुना सुरक्षित राखेर भविष्यमा आवश्यक परे पुनः परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको छ ।

दैनिक २५ देखि ३० नमुना परीक्षण

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको नियमित वार्षिक क्षमता करिब ४०० वटा डिएनए परीक्षण गर्ने रहेको बताइएको छ । तर भोटेकोशी विपद्पछि अत्यधिक सङ्ख्यामा नमुना सङ्कलन भएपछि नियमित क्षमताभन्दा धेरै काम गर्नुपर्ने अवस्था आएको छ ।

प्रहरीका अनुसार अहिले दैनिक करिब २५ देखि ३० वटा नमुनाको डिएनए परीक्षण भइरहेको छ । प्रहरीले भदौ १३ गतेदेखि डिएनए नमुना सङ्कलन सुरु गरेको हो । हालसम्म करिब ४०० भन्दा बढी नमुनाको डिएनए परीक्षण भइसकेको जनाइएको छ ।

विशेषज्ञका अनुसार सबै नमुनाबाट पहिलो पटकमै स्पष्ट नतिजा आउन आवश्यक छैन । कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउन सक्छ । विशेषगरी हड्डी तथा दाँतबाट निकालिएको डिएनएको करिब ३० प्रतिशतसम्म नतिजा दोहोर्‍याएर परीक्षण गर्नुपर्ने हुनसक्ने विज्ञहरूको भनाइ छ ।

हेटौँडामा पनि प्रयोगशाला सञ्चालनको तयारी

डिएनए परीक्षणको चाप बढ्दै गएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा समेत अर्को प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार हेटौँडामा प्रयोगशालाका लागि आवश्यक मेसिन ल्याइसकिएको छ र अहिले ‘सेटअप’को काम भइरहेको छ । उहाँले करिब एक हप्ताभित्र प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रयोगशाला थपिएपछि परीक्षणको क्षमता बढ्ने र शव पहिचानमा भइरहेको ढिलाइ कम हुने प्रहरीको अपेक्षा छ ।

भोटेकोशी विपद्पछिको खोज, उद्धार, शव पहिचान तथा व्यवस्थापनलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत यससम्बन्धी कार्यलाई प्रभावकारी बनाउन आवश्यक पहल गरिरहनुभएको प्रहरीले जनाएको छ ।

‘कोडिस’ सफ्टवेयरबाट डिएनए म्याचिङ

फेला परेका शव र सम्पर्कविहीन व्यक्तिका नजिकका आफन्तबाट सङ्कलन गरिएको डिएनए नमुना मिलान गर्न प्रहरीले ‘कम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याएको छ ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार मृतक तथा आफन्तको डिएनए प्रोफाइल तयार गरी सफ्टवेयरमा राखेपछि प्रणालीले सम्भावित मिलान देखाउने गर्दछ । यसबाट लामो समयदेखि पहिचान हुन नसकेका शवको पहिचान गर्न प्राविधिक सहयोग पुग्ने प्रहरीको विश्वास छ ।

डिएनए म्याचिङबाट सम्बन्ध पुष्टि भएपछि आवश्यक कागजात तथा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । यसका लागि अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलित कानुनी प्रक्रियालाई समेत आधार बनाइने बताइएको छ ।

प्रहरीका सबै सम्बन्धित जनशक्ति २४ घण्टा खटिए

डिएनए परीक्षणलाई सकेसम्म छिटो सम्पन्न गर्न नेपाल प्रहरीले सम्बन्धित सम्पूर्ण जनशक्ति परिचालन गरेको छ । यस कार्यमा संलग्न प्रहरी कर्मचारीलाई बिदा नदिई २४ घण्टा ड्युटीमा खटाइएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

डिएनए प्रोफाइलिङमा नेपाली जनशक्तिसँगै विदेशी विज्ञको समेत सहयोग लिइएको छ । डिएनए परीक्षण खर्चिलो र समय लाग्ने प्रक्रिया भएकाले नेपाल सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

तर विपद् प्रभावित क्षेत्रबाट नयाँ शव फेला पर्ने क्रम जारी रहनु, नमुनाको सङ्ख्या बढ्दै जानु तथा आवश्यक उपकरण र दक्ष जनशक्तिको सीमितताले प्रहरीसमक्ष ठूलो चुनौती सिर्जना गरेको छ ।

प्रहरी अधिकारीहरूले देशका सातवटै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सके भविष्यमा यस्ता विपद्का बेला शव पहिचान तथा अन्य वैज्ञानिक परीक्षणलाई थप छिटो र प्रभावकारी बनाउन सकिने बताएका छन् ।

नमुना सुरक्षित राखेर परीक्षण

नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतक तथा उनीहरूका आफन्तबाट सङ्कलन गरिएका नमुना आउने क्रम अझै जारी छ ।

उहाँका अनुसार प्रयोगशालाले सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणका सम्पूर्ण मापदण्ड पूरा गरेर डिएनए परीक्षणमा अहोरात्र काम गरिरहेको छ ।

कुनै व्यक्तिको पहिचान गर्नुका साथै दुई वा दुईभन्दा बढी व्यक्तिबीचको जैविक सम्बन्ध स्थापित गर्न डिएनए प्रोफाइलिङलाई सबैभन्दा प्रभावकारी वैज्ञानिक विधिमध्ये एक मानिन्छ । त्यसैले बाढीमा ज्यान गुमाएका तथा सम्पर्कविहीन व्यक्तिको पहिचानका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको हो ।

शव पहिचानका लागि तीनवटा विधि

प्रहरीले फेला परेका शवको पहिचानका लागि डिएनए परीक्षण मात्र नभई तीनवटा प्रमुख विधि प्रयोग गरिरहेको छ ।

पहिलो, डिएनए परीक्षणमार्फत मृतक र आफन्तको जैविक नमुना मिलान गरिन्छ । दोस्रो, सम्भव भएका शवबाट औँठाछाप सङ्कलन गरी प्राविधिक प्रणालीमार्फत पहिचान गर्ने प्रयास भइरहेको छ । तेस्रो, फोटो भिडान गरी हराइरहेका व्यक्तिको विवरणसँग फेला परेको शवको दृश्य पहिचान मिलाउने काम भइरहेको छ ।

हराएका व्यक्ति र फेला परेका शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको जनाएको छ ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार केही शवबाट औँठाछापसमेत निकालिएको छ । ती औँठाछापलाई प्राविधिक रूपमा रूपान्तरण गरी सम्बन्धित व्यक्तिको पहिचान गर्न विभिन्न प्रणालीसँग भिडान गर्ने काम भइरहेको छ ।

औँठाछाप ‘भेरिफाइ’ गर्न राष्ट्रिय परिचयपत्रलगायतका प्रणालीबाट उपलब्ध जैविक विवरणको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ । यो विधि डिएनएको तुलनामा कम खर्चिलो र छिटो हुने भए पनि सबै शवबाट औँठाछाप निकाल्न सम्भव हुँदैन ।

विशेषगरी हात नभएका, अत्यधिक गलेका वा क्षतिग्रस्त शवबाट औँठाछाप लिन कठिन हुने प्रहरीको भनाइ छ ।

भोटेकोशी बाढीपछि ठूलो सङ्ख्यामा मानिसको ज्यान गएको तथा धेरै व्यक्ति अझै सम्पर्कविहीन रहेको अवस्थामा शवको वैज्ञानिक पहिचान र परिवारलाई हस्तान्तरण गर्ने काम चुनौतीपूर्ण बनेको छ । यही चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरीले डिएनए परीक्षण, औँठाछाप र फोटो भिडानलगायतका प्रविधिको प्रयोग बढाएर पहिचान प्रक्रियालाई तीव्र बनाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४