Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकर्णेश्वरमा सहज बन्यो पितृ सम्मान, फराकिलो बाटोले भक्तजनलाई राहत


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 741
    SHARES

काठमाडौं । लामो समयपछि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पितृ सम्मानका लागि पुगेका भक्तजनले यस वर्ष सहज रूपमा वाग्मती नदीकिनारमा पुगेर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्ने अवसर पाएका छन्।

हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पितृ सम्मान मेला लाग्ने गर्दछ। यस वर्ष नेपाल ट्रष्टको जग्गा छेउमा रहेको पर्खाल भत्काएर बाटो फराकिलो बनाएपछि भक्तजनलाई मन्दिर क्षेत्र प्रवेश गर्न सहज भएको हो।

विशेषगरी माकालबारीतर्फको सडकबाट समेत भक्तजन आवतजावत गर्न पाएका कारण विगतका वर्षको तुलनामा यस पटक पितृ सम्मान गर्न आउनेलाई सहज भएको आगन्तुकहरूले बताएका छन्।

काठमाडौँ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेको अग्रसरतामा नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काइएको हो। पर्खाल पछाडि सारेर दक्षिणढोका निस्कने बाटो खुलाउन स्थानीय तहबाट लामो समयदेखि माग हुँदै आएको थियो।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेको कार्यकालदेखि नै उक्त पर्खाल हटाएर बाटो फराकिलो बनाउन माग हुँदै आएको बताइएको छ। लामो समयसम्म पर्खाल नभत्किँदा प्रत्येक वर्ष पितृ सम्मान मेलाका बेला भक्तजनको आवतजावतमा समस्या हुने गरेको थियो।

पर्खाल भत्काएर बाटो फराकिलो बनाएपछि यस वर्ष मेला व्यवस्थापनसमेत सहज भएको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिनुभयो।

बाबुको मुख हेर्ने दिनका रूपमा समेत प्रचलित भाद्र कृष्ण औँसीका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र तीर्थस्थलमा पुगेर दिवङ्गत पिताका नाममा श्रद्धापूर्वक तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिदा दिने वैदिक सनातनी परम्परा रहेको छ। यही परम्पराअनुसार यस वर्ष पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ठूलो संख्यामा भक्तजन पुगेका छन्।

‘उत्तरगया’का रूपमा समेत प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको अवसरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। मेलाका लागि बुधबारदेखि नै आवश्यक तयारी गरिएको थियो।

सिन्धुलीबाट गोकर्णेश्वर आउनुभएका रामचन्द्र बरालले विगतका वर्षको तुलनामा यस वर्ष मन्दिर क्षेत्रमा प्रवेश गर्न सहज भएको बताउनुभयो। बाटो फराकिलो भए पनि माटो राम्रोसँग नपन्छाइएका कारण हिलोका कारण केही समस्या भएको उहाँको भनाइ छ।

मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको लाम लागेको थियो। भक्तजनको भीडलाई व्यवस्थापन गर्न आज नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकेर मन्दिर क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको थियो।

यस वर्ष बाटो फराकिलो बनाइएपछि पितृ सम्मानका लागि गोकर्णेश्वर पुगेका भक्तजनलाई विगतको तुलनामा सहज भएको र मेला व्यवस्थापनमा समेत सहयोग पुगेको स्थानीय तथा आगन्तुकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४