Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढी अपडेट: मृतककाे संख्या १३ सय ६७ पुग्यो, ५ हजार बढी अझै सम्पर्कविहीन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २४ २०८३
  • 722
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विभिन्न जिल्लामा मानवीय क्षतिको संख्या बढ्दै गएको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म विभिन्न जिल्लाबाट १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

प्राधिकरणका अनुसार बाढी तथा अन्य विपद्का कारण सबैभन्दा बढी शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै ३६३ वटा शव फेला परेका छन्। यस्तै, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको समेत मृत्यु भएको विवरणमा उल्लेख छ। विभिन्न स्थानबाट फेला परेका शवको संख्या बढ्दै गएसँगै मृतकको वास्तविक संख्या अझै बढ्न सक्ने देखिएको छ।

१०२ शवको सनाखत

प्राधिकरणका अनुसार हालसम्म १०२ वटा शवको सनाखत गरी सम्बन्धित आफन्तलाई बुझाइसकिएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवश्यक प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ।

सनाखत हुन बाँकी शवका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो तथा नाता प्रमाणित गर्ने कागजातसहित नमुना दिन सक्ने प्राधिकरणले जनाएको छ। यस प्रक्रियाबाट शवको पहिचान गरी कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाउने काम भइरहेको छ।

५ हजार १३२ जना अझै सम्पर्कविहीन

बाढी तथा विपद्का कारण देशका विभिन्न जिल्लामा गरी करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेको संख्या सबैभन्दा बढी रसुवा र नुवाकोटमा रहेको छ।

रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ। त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३९३ जना, अन्य जिल्लाका १ हजार २८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५ जना, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना तथा बैंक तथा वित्तीय संस्थामा कार्यरत २६ जना रहेका छन्।

यस्तै, नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। नुवाकोटबाट सम्पर्कविहीन भएकामध्ये ६५१ जना नुवाकोटकै रहेका छन् भने रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना रहेका छन्।

त्यसैगरी, बाढी तथा विपद्का कारण करिब ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा सनाखत भएका शवको संख्या सम्पर्कविहीनको संख्याबाट घटाइएको जनाएको छ। त्यसैले प्रारम्भिक विवरण र पछिल्ला अद्यावधिक तथ्यांकमा संख्यामा केही फरक पर्न सक्ने प्राधिकरणले स्पष्ट पारेको छ।

१३ हजार ६४६ जनाको उद्धार

विपद् प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र अन्य व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्राधिकरणका अनुसार उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन्। यसमध्ये नेपाल प्रहरीका ७ हजार ९७५ जना, नेपाली सेनाका ९ हजार ७ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्।

प्रभावित तथा उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा राख्न विभिन्न जिल्लामा ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा हाल ३ हजार ६२८ जना रहेका छन्।

होल्डिङ सेन्टरमा रहेका नागरिकमध्ये रसुवामा ७३३ जना, नुवाकोटमा २ हजार ६९९ जना र धादिङमा १९६ जना रहेका छन्। विस्थापित तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, आवास, स्वास्थ्य सेवा तथा अन्य राहत सामग्री उपलब्ध गराउने कामसमेत भइरहेको प्राधिकरणले जनाएको छ।

अस्पतालमा ३२९ जनाको उपचार

बाढी तथा विपद्का कारण घाइते भएका नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्राधिकरणका अनुसार विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ।

उपचार गराइएकामध्ये २५२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घाइते तथा बिरामीको अवस्थाअनुसार सम्बन्धित अस्पतालमा उपचार तथा थप स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

यसैगरी, उद्धार कार्यमा परिचालित नेपाली सेना र सशस्त्र प्रहरी बलले समेत प्रभावित तथा घाइते नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएका छन्। नेपाली सेनाले मात्रै ३ हजार ५३५ जनालाई उपचार सेवा प्रदान गरेको छ भने सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा दिएको प्राधिकरणले जनाएको छ।

खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने, सम्पर्कविहीनको खोजी गर्ने, फेला परेका शवको सनाखत गर्ने तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने काम एकैसाथ अघि बढाइएको छ।

विशेषगरी रसुवा र नुवाकोटमा ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको तथा विभिन्न जिल्लाका नागरिकसमेत प्रभावित क्षेत्रमा पुगेका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

सुरक्षा निकायका हजारौं जनशक्ति परिचालन गरिए पनि दुर्गम भूगोल, बाढीले क्षतिग्रस्त सडक तथा पूर्वाधार, नदीको तीव्र बहाव र प्रतिकूल परिस्थितिका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने कामलाई प्राथमिकतामा राखिएको जनाएको छ। साथै, सम्पर्कविहीन नागरिकको खोजी तथा फेला परेका शवको सनाखत प्रक्रिया पनि निरन्तर अघि बढिरहेको जनाएको छ।

बाढी तथा विपद्को पछिल्लो अवस्थाबारे प्राप्त विवरणअनुसार ठूलो मानवीय क्षति भएको देखिएको छ भने हजारौं नागरिक विस्थापित तथा सम्पर्कविहीन अवस्थामा छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले आगामी दिनमा थप विवरण प्राप्त हुँदै जाने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४