काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सोमबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको रु. १० लाखको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले सरकारको विपद् व्यवस्थापन शैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले विपद्को समयमा सरकारको उपस्थिति र समन्वय प्रभावकारी हुनुपर्नेमा त्यसको अभाव देखिएको दाबी गर्नुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा केन्द्र सरकारको उपस्थिति खोज्नुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा मन्त्रीहरूलाई लक्षित गर्दै प्रभावित क्षेत्रमा पुगेका केही व्यक्तिले पीडित नागरिकलाई हप्कीदप्की गरेर फर्काउने, केहीले आधारहीन निर्देशन दिने तथा कतिपयको गतिविधिले समस्यामाथि थप समस्या सिर्जना गरेको आरोप लगाउनुभयो ।
निजी हेलिकप्टर परिचालन गर्न दिनुपर्ने ओलीको माग
अध्यक्ष ओलीले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गर्न सरकारले रोक लगाएको दाबी गर्नुभयो । उद्धारका लागि तालिमप्राप्त जनशक्ति तथा हेलिकप्टर भएका निजी क्षेत्रलाई समेत परिचालन गर्न सके उद्धार कार्य अझ प्रभावकारी बन्ने उहाँको भनाइ छ ।
“निजी हेलिकप्टर पनि जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न उत्सुकहरू छन् । उद्धारका निम्ति ट्रेनिङ लिएका मान्छेहरू छन् । त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने धेरै काम गर्थे, तर प्रतिबन्ध लगाएर हेलिकप्टर रोक्दिएको छ,” उहाँले भन्नुभयो ।
उहाँले विपद्का बेला उपलब्ध सबै स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उद्धारका लागि सरकारी संयन्त्रसँगै निजी क्षेत्र तथा दक्ष जनशक्तिलाई पनि समन्वय गरेर परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
जोखिमयुक्त क्षेत्रमा विशेष प्रविधि आवश्यक
ओलीले सुरुङ तथा अन्य जोखिमयुक्त क्षेत्रमा फसेका व्यक्तिको उद्धार हेलिकप्टरबाट मात्रै सम्भव नहुने बताउनुभयो । त्यस्ता स्थानमा उद्धारका लागि आवश्यक प्राविधिक जनशक्ति, उपकरण तथा विशेषज्ञ टोली परिचालन गर्नुपर्ने उहाँको धारणा छ ।
बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा मानिसहरू फसेको र कतिपय बेपत्ता भएको अवस्थामा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने उहाँले बताउनुभयो ।
प्रभावित स्थानीयवासीले आफन्तको खोजी गर्नसमेत अनुमति नपाएको गुनासो गरिरहेको उल्लेख गर्दै ओलीले विपद्को समयमा नागरिकलाई सहज रूपमा सहयोग गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
एमालेका नेता–कार्यकर्ता प्रभावित क्षेत्रमा खटिएको दाबी
अध्यक्ष ओलीले विपद्को समयमा सरकारको भूमिका समन्वयकारी र प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले एमालेका नेता, कार्यकर्ता तथा स्थानीय र प्रदेश तहका जनप्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा सहयोगका काममा खटिरहेको दाबी गर्नुभयो ।
“हामी समस्यामा मलमपट्टी लगाउन खोजिरहेका छौँ । यतिखेर पनि हाम्रो पार्टीका नेता–कार्यकर्ता, स्थानीय र प्रदेशका जनप्रतिनिधिसमेत स्थलमै खटिएर काम गरिरहनुभएको छ,” उहाँले भन्नुभयो ।
रसुवाको भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको अवस्थामा बेपत्ता व्यक्तिको खोजी, जोखिममा परेकाको उद्धार, विस्थापित नागरिकको व्यवस्थापन तथा राहत वितरणका काम चुनौतीपूर्ण बनेका छन् । यही अवस्थामा सरकारको विपद् व्यवस्थापन, उद्धार संयन्त्रको परिचालन र राहत वितरण प्रभावकारी बनाउनुपर्ने विषयमा राजनीतिक दल तथा विभिन्न क्षेत्रबाट आवाज उठिरहेको छ ।
ओलीले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा पनि तत्काल उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी बेपत्ताको खोजी, उद्धार, राहत तथा प्रभावित नागरिकको पुनःस्थापनालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।