काठमाडौँ । देशभर मनसुनी गतिविधि सक्रिय रहँदा आज अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ।
हाल कोशी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ।
दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशका पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका थोरै स्थान, बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान र गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
त्यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने महाशाखाले जनाएको छ।
विशेषगरी भारी वर्षाको सम्भावना रहेका पहाडी तथा तराई क्षेत्रका नागरिकलाई नदी, खोला तथा खोल्सा आसपास अनावश्यक आवतजावत नगर्न र पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ। यात्रामा निस्कनेहरूले मौसमको अवस्था र सम्बन्धित निकायका सूचनालाई ध्यानमा राख्नुपर्ने देखिएको छ।