काठमाडौं । मुलुकका विभिन्न स्थानमा आएको विपद्मा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेका हुन् ।
नेपाल प्रहरीका अनुसार फेला परेका ६६९ मृतकमध्ये १४८ महिला, २६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन् । यसबाहेक २११ वटा आंशिक मानव अङ्ग फेला परेका छन् । फेला परेका शवमध्ये पहिचान भई कानुनी प्रक्रिया पूरा गरिएका २० वटा शव सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ ।
बेपत्ताको संख्या भने २ हजार ३६२ पुगेको प्रहरीले जनाएको छ । प्रहरीको विवरणअनुसार बेपत्तामध्ये १ हजार ८६३ जना नेपाली नागरिक रहेका छन् । तीमध्ये १ हजार ५९१ पुरुष र २६४ महिला रहेको उल्लेख छ । त्यस्तै ५२३ जना विदेशी नागरिक बेपत्ता छन्, जसमा २२३ पुरुष र ३०० महिला रहेका छन् ।
तर प्रवक्ता काफ्लेको वक्तव्यका क्रममा बेपत्ताको कुल संख्या २ हजार ३७८ पुगेको उल्लेख गरिएको छ । नेपाली नागरिकको संख्यामा पनि वक्तव्य र प्रारम्भिक विवरणबीच केही फरक देखिएको छ । त्यसैले प्रहरीबाट पछिल्लो आधिकारिक तथ्याङ्क पुनः स्पष्ट हुन बाँकी देखिएको छ ।
२ हजार ३०१ जनाको उद्धार
प्रहरीका अनुसार विपद् प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ हजार ५०६ पुरुष र ७९५ महिला रहेका छन् ।
विपद् प्रभावित तथा विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्न नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । ती केन्द्रमा करिब १ हजार व्यक्तिले आश्रय लिइरहेका छन् । धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरिएको भए पनि हाल त्यहाँ कोही नरहेको प्रहरीले जनाएको छ ।
खोजी तथा उद्धारमा विशेष टोली परिचालन
विपद्पछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन नेपाल प्रहरीले विभिन्न विशेष टोली परिचालन गरेको छ । प्रवक्ता काफ्लेका अनुसार गत १० गतेदेखि नै २२ सदस्यीय मेडिकल टोली प्रभावित क्षेत्रमा खटिएको छ ।
खोजी कार्यलाई थप प्रभावकारी बनाउन ७ वटा ड्रोन र ६ जना अपरेटर सहितको टोली परिचालन गरिएको छ । शनिबार थप ड्रोन तथा विपद् व्यवस्थापनसम्बन्धी टोलीलाई रसुवातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्गम तथा बाढीपहिरोबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुग्न कठिन भएका कारण ड्रोनको प्रयोगबाट सम्भावित घटनास्थल, नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा खोजी भइरहेको छ ।
तालिमप्राप्त कुकुरसहित खोजी
बेपत्ता व्यक्तिको खोजी तथा शव पत्ता लगाउन तालिमप्राप्त कुकुरहरू समेत परिचालन गरिएको प्रहरीले जनाएको छ । बाढीपहिरो तथा अन्य विपद्का कारण पुरिएका वा पहुँच कठिन भएका स्थानमा खोजी कार्यका लागि विशेष तालिम प्राप्त कुकुरको प्रयोग भइरहेको छ ।
त्यस्तै फेला परेका शवको सङ्कलन, पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्न छुट्टाछुट्टै विज्ञ टोलीहरू परिचालन गरिएको छ । शवको पहिचान, कानुनी सहायता तथा मुचुल्का लेखनका लागि सम्बन्धित विशेषज्ञ टोलीहरू प्रभावित क्षेत्रमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।
शव पहिचान र व्यवस्थापनमा चुनौती
ठूलो संख्यामा शव तथा आंशिक मानव अङ्ग फेला परेकाले पहिचान र व्यवस्थापनको काम पनि चुनौतीपूर्ण बनेको छ । विभिन्न स्थानबाट सङ्कलन गरिएका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । पहिचान भएका शवलाई कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रवक्ता काफ्लेले उपलब्ध पछिल्लो विवरणअनुसार ६६९ शव फेला परेको, २० शव आफन्तलाई हस्तान्तरण गरिएको तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् ।
बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप अद्यावधिक हुन सक्ने प्रहरीले जनाएको छ । विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, मेडिकल टोली, ड्रोन अपरेटर, तालिमप्राप्त कुकुर तथा विपद् व्यवस्थापन टोली परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइएको छ ।