रसुवामा १३ पुल ध्वस्त
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्लामा मात्रै १३ वटा पुल पूर्ण रूपमा बगेका छन्। रसुवागढीदेखि स्याफ्रुबेँसी, चिलिमे, त्रिशूली र मैलुङ क्षेत्रसम्मका महत्वपूर्ण पुलहरूमा बाढीले क्षति पुर्याएको हो।
बाढीले रसुवागढीस्थित मितेरी पुल, टिमुरे पुल नम्बर १ र २, चिलिमेस्थित भोटेकोशी पुल तथा चिलिमे खोला पुल बगाएको छ।
त्यस्तै, भोटेकोशी तथा स्याफ्रुबेँसी क्षेत्रका विभिन्न बेलिब्रिजहरू र स्याफ्रुबेँसी पुल समेत बाढीको चपेटामा परेका छन्।
त्रिशूली र मैलुङ क्षेत्रमा रहेका थप ५ वटा विभिन्न पुलहरू समेत बाढीले बगाएको सडक विभागको विवरणमा उल्लेख छ।
रसुवाका यी पुलहरू बगेसँगै जिल्लाका विभिन्न क्षेत्रमा सडक सम्पर्क विच्छेद भएको छ। विशेषगरी चीनतर्फको सीमावर्ती क्षेत्रसँग जोडिने सडक तथा स्थानीय बस्तीलाई जोड्ने मार्गमा समेत यसको प्रत्यक्ष असर परेको छ।
नुवाकोटमा सबैभन्दा धेरै पुल ध्वस्त
बाढीबाट नुवाकोट जिल्ला पनि अत्यधिक प्रभावित भएको छ। विभागका अनुसार नुवाकोटमा १४ वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन्।
बेत्रावती क्षेत्रबाट देवीघाटसम्मका विभिन्न पुलहरू बाढीले बगाएको हो। बेत्रावतीका पुरानो र नयाँ गरी दुईवटा पुल बाढीले ध्वस्त बनाएको छ।
त्यस्तै, तुप्चेस्थित त्रिशूली नदी पुल, त्रिशूली बजारका पुरानो र नयाँ गरी दुईवटा पुल तथा सिमचौर पुल समेत बाढीले बगाएको छ।
देवीघाट क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। जालश्रोत तथा सिँचाइ डिभिजन नजिकको पुल र मध्यपहाडी राजमार्गअन्तर्गतको देवीघाट पुल समेत पूर्ण रूपमा बगेका छन्।
यसैगरी ताँदी खोलाका दुईवटा पुल पनि बाढीले बगाएको छ।
त्रिशूली नदीअन्तर्गत श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटार क्षेत्रमा रहेका पुलहरू समेत बाढीबाट पूर्ण रूपमा ध्वस्त भएका छन्।
नुवाकोटका यी पुलहरू क्षतिग्रस्त भएपछि जिल्लाका विभिन्न ग्रामीण तथा मुख्य सडकखण्डमा आवतजावत प्रभावित भएको छ। पुलमार्फत जोडिएका बस्ती तथा बजार क्षेत्रसँगको सडक सम्पर्क पुनःस्थापित गर्न तत्काल वैकल्पिक व्यवस्था आवश्यक देखिएको छ।
धादिङमा ५ पुल पूर्ण रूपमा ध्वस्त
बाढीले धादिङ जिल्लामा पनि ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार धादिङ खण्डमा ५ वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३ वटा पुलमा क्षति पुगेको छ।
पूर्ण रूपमा ध्वस्त भएका संरचनामा स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुस्थित फुर्के खोला पुल तथा कोल्पु खोलाका दुईवटा पुल रहेका छन्।
त्यस्तै, मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुलमा क्षति पुगेको विभागले जनाएको छ।
यी पुलमा पुगेको क्षतिका कारण धादिङका विभिन्न सडकखण्डमा यातायात सञ्चालन तथा स्थानीय आवतजावतमा समस्या उत्पन्न भएको छ।
केही महत्वपूर्ण पुल भने सुरक्षित
बाढीको तीव्र प्रभावका बाबजुद धादिङ र चितवन खण्डका केही महत्वपूर्ण पुलहरू भने सुरक्षित रहेका छन्।
गल्छी नजिकैको भिमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिन क्षेत्रका पुलहरू बाढीबाट जोगिएका छन्।
यी पुलहरू सुरक्षित रहँदा पृथ्वी राजमार्ग तथा आसपासका सडकखण्डमा यातायात सञ्चालनका लागि केही महत्वपूर्ण सम्पर्क कायम रहेको छ।
सडक सम्पर्क पुनःस्थापनामा चुनौती
एकैपटक ठूलो संख्यामा पुलहरू बगाएपछि प्रभावित जिल्लामा सडक सम्पर्क पुनःस्थापना गर्नु सरकार तथा सडक विभागका लागि ठूलो चुनौती बनेको छ।
पुलहरू पूर्ण रूपमा बगेका स्थानमा तत्काल वैकल्पिक बाटो तथा अस्थायी संरचना निर्माण गर्नुपर्ने अवस्था छ। बाढीबाट क्षति भएका सडक तथा पुलको प्राविधिक अध्ययन गरी प्राथमिकताका आधारमा मर्मत, पुनर्निर्माण तथा वैकल्पिक संरचना निर्माणको काम अघि बढाउनुपर्ने देखिएको छ।
विशेषगरी रसुवा, नुवाकोट र धादिङमा नदी तथा खोलाले पुर्याएको क्षतिको विस्तृत मूल्याङ्कनपछि मात्रै दीर्घकालीन रूपमा सडक सञ्जाल पुनःस्थापना गर्न सकिने अवस्था रहेको छ।
भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीले पुल तथा सडक संरचनामा पुर्याएको क्षतिले प्राकृतिक विपद्का बेला नेपालको सडक पूर्वाधार कति जोखिममा पर्न सक्छ भन्ने पनि देखाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै सडक र पुलको तत्काल पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।

