काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढीले जलविद्युत् आयोजना, प्रसारण लाइन, सबस्टेसन तथा अन्य विद्युत् संरचनामा क्षति पुर्याएपछि नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापाका अनुसार बाढीबाट क्षतिग्रस्त प्रसारण लाइन तथा विद्युत् संरचनाको अवस्थाबारे प्राविधिक अध्ययन सुरु गर्न लागिएको छ। क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गरी मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन केही समय लाग्ने उनले जानकारी दिए।
नुवाकोटमा उत्पादित विद्युत् काठमाडौं पठाउने महत्वपूर्ण संरचनाका रूपमा रहेको किस्पाङ–५ पैरेबेंसीस्थित सबस्टेसनमा समेत बाढीले ठूलो क्षति पुर्याएको छ। त्यस्तै, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रका संरचनामा समेत बाढीको प्रभाव परेको छ।
यी महत्वपूर्ण संरचनामा क्षति पुगेपछि केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् आपूर्ति निरन्तर राख्न वैकल्पिक व्यवस्था तथा सम्भावित प्राविधिक उपायबारे अध्ययन सुरु गर्न लागिएको निर्देशक थापाले बताए। उनका अनुसार क्षतिको विस्तृत मूल्याङ्कनपछि मात्र विद्युत् सेवा पूर्ण रूपमा पुनःस्थापित गर्न कति समय लाग्ने भन्ने यकिन हुनेछ।
रसुवाका जलविद्युत् आयोजनामा क्षति
भोटेकोशी बाढीबाट रसुवास्थित विभिन्न जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। बाढीबाट प्रभावित आयोजनामा १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्र, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना, १२० मेगावाटको लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना र निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रहेका छन्।
बाढीको तीव्र बहावका कारण आयोजनाका विद्युत् गृह, पहुँचमार्ग, संरचना तथा अन्य पूर्वाधारमा क्षति पुगेको बताइएको छ। कतिपय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ।
नुवाकोटका आयोजनामा पनि क्षति
नुवाकोटमा पनि बाढीले जलविद्युत् तथा विद्युत् उत्पादनसँग सम्बन्धित विभिन्न संरचनामा क्षति पुर्याएको छ। प्रभावित संरचनामा ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’, २१ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र रहेका छन्।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ।
बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारणसँग सम्बन्धित धेरै संरचनामा एकैपटक क्षति पुगेपछि नुवाकोट र रसुवाको विद्युत् आपूर्ति प्रणालीमा गम्भीर प्रभाव परेको छ।
सञ्चालनमा ल्याउन समय लाग्ने
नेपाल विद्युत् प्राधिकरणका निर्देशक थापाका अनुसार बाढीबाट क्षतिग्रस्त अधिकांश संरचना गम्भीर अवस्थामा रहेकाले तत्काल सञ्चालनमा ल्याउन कठिन छ। संरचनाको क्षतिको विस्तृत अध्ययन, सफाइ, मर्मत तथा आवश्यक पुनर्निर्माणपछि मात्रै आयोजना र प्रसारण प्रणालीलाई क्रमशः सञ्चालनमा ल्याउन सकिनेछ।
विशेषगरी प्रसारण लाइन, सबस्टेसन र विद्युत् गृहमा भएको क्षतिको अवस्था पहिचान गर्न प्राविधिक टोली परिचालन गरिनेछ। त्यसपछि अत्यावश्यक संरचनालाई प्राथमिकतामा राखेर मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइनेछ।
भोटेकोशीमा आएको बाढीले एकैपटक ठूलो संख्यामा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन र प्रसारण दुवै क्षेत्रमा चुनौती थपिएको छ। क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ठूलो स्रोतसाधन र समय आवश्यक पर्ने देखिएको छ।
प्राधिकरणले विद्युत् सेवा यथाशीघ्र सामान्य अवस्थामा फर्काउन प्राविधिक अध्ययन तथा वैकल्पिक व्यवस्थाको काम अघि बढाउने जनाएको छ। क्षतिको पूर्ण विवरण संकलन भएपछि पुनःस्थापना तथा मर्मतका लागि आवश्यक योजना र समयसीमा तय गरिनेछ।