काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले बागमती प्रदेशमा मन्त्री रहेका तीन जना सांसदलाई पार्टीले गरेको कारबाहीसम्बन्धी पत्र नक्कली भएको टिप्पणी गर्नुभएको छ।
पूर्वअध्यक्ष थापाले मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशकी उपसभामुखलाई पठाउनुभएको पत्र सार्वजनिक गर्दै उक्त पत्रको वैधानिकतामाथि प्रश्न उठाउनुभएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार बागमती प्रदेशकी उपसभामुखलाई पत्र पठाउँदै पार्टीका तीन जना सांसद पदमुक्त भएको जानकारी गराउनुभएको थियो। अध्यक्ष लिङ्देनको हस्ताक्षर रहेको उक्त पत्रलाई पूर्वअध्यक्ष थापाले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘नक्कली’ भएको टिप्पणी गर्नुभएको हो।
बागमती प्रदेशमा मुख्यमन्त्रीलाई समर्थन गर्ने तथा प्रदेश सरकारमा सहभागी हुने विषयलाई लिएर राप्रपाभित्र लामो समयदेखि मतभेद देखिँदै आएको छ। पार्टीको एक पक्ष सरकारमा सहभागी हुने पक्षमा देखिए पनि अर्को पक्षले त्यसप्रति असहमति जनाउँदै आएको छ।
पूर्वअध्यक्ष थापा पक्ष भने बागमती प्रदेश सरकारमा सहभागी हुन सकिने पक्षमा रहेको बताइएको छ। सरकारमा जाने वा नजाने विषयमा पार्टीभित्रको विवादसँगै प्रदेश संसदीय दलको नेतृत्व र सांसदहरूमाथि भएको कारबाहीले पनि राप्रपाभित्रको आन्तरिक विवाद थप सतहमा ल्याएको छ।
यसअघि बागमती प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता उद्धव थापामाथि पार्टीले गरेको कारबाहीप्रति पनि पूर्वअध्यक्ष कमल थापाले असहमति जनाउनुभएको थियो। उहाँले पार्टीभित्रको निर्णय प्रक्रिया र सांसदहरूमाथि गरिएको कारबाहीबारे प्रश्न उठाउँदै आउनुभएको छ।
बागमती प्रदेशसभामा राप्रपाका कुल १२ जना सांसद रहेका छन्। तीमध्ये पार्टीले हालसम्म चार जना सांसदलाई पदमुक्त गरेको जनाएको छ।
तीन सांसदलाई गरिएको पछिल्लो कारबाहीको पत्रलाई कमल थापाले नै नक्कली भएको दाबी गरेपछि बागमती प्रदेशमा राप्रपाभित्रको विवाद थप पेचिलो बनेको छ। पार्टी नेतृत्वको निर्णय र पूर्वअध्यक्ष थापाको सार्वजनिक असहमतिले राप्रपाभित्रको आन्तरिक शक्ति संघर्षलाई समेत उजागर गरेको छ।
