Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दीपक मलहोत्राको नजरमा ‘मास्टर्नी’ उत्कृष्ट नेपाली चलचित्रमध्ये एक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ९ २०८३
  • 893
    SHARES

काठमाडौं । व्यवसायी दीपक मलहोत्राले नेपाली चलचित्र ‘मास्टर्नी’ आफूले हेरेका उत्कृष्ट नेपाली चलचित्रमध्ये एक भएको बताएका छन्। चलचित्रको प्रिमियर शो हेरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ‘मास्टर्नी’ कथावस्तु, प्रस्तुति र थ्रिलरको प्रभावकारी संयोजनका कारण आफूलाई निकै मन परेको बताएका हुन्।

मलहोत्राका अनुसार चलचित्र हेरेपछि आफूले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दा धेरै साथीभाइ, आफन्त तथा शुभचिन्तकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भए पनि केही व्यक्तिले चलचित्रसँग प्रत्यक्ष सम्बन्ध नभएका विषयलाई जोडेर अनावश्यक तथा नकारात्मक टिप्पणी गरेको देखिएको छ। उनले चलचित्रबारे धारणा बनाउँदा सम्पूर्ण कथा र पात्रको भूमिकालाई बुझेर मात्र प्रतिक्रिया दिनुपर्नेमा जोड दिएका छन्।

उनले कलाकारले कथावस्तु र पात्रको आवश्यकताअनुसार फरक–फरक भूमिका निर्वाह गर्नुपर्ने बताए। कुनै कलाकारले चलचित्रमा निर्वाह गरेको पात्रलाई चलचित्रको समग्र कथा र सन्दर्भबाट बुझ्नुपर्ने उनको भनाइ छ।

विशेषगरी चलचित्रमा प्रियंका कार्कीको भूमिकालाई लिएर सामाजिक सञ्जालमा भएका केही टिप्पणीप्रति मलहोत्राले असन्तुष्टि जनाएका छन्। उनले ‘मास्टर्नी’मा ‘गणित सिकाउने’ लगायतका आरोपसँग जोडिने कुनै प्रसंग नरहेको स्पष्ट पारेका छन्। त्यस्तै, ती टिप्पणीसँग जोडिएको भनिएको गीतसमेत चलचित्रको कथासँग सम्बन्धित नरहेको उनको दाबी छ।

मलहोत्राले चलचित्रमा अनावश्यक अश्लीलता नरहेको उल्लेख गर्दै प्रियंका कार्कीले आमासँगै शिक्षिकाको भूमिकालाई जिम्मेवारीपूर्वक र प्रभावशाली ढंगले प्रस्तुत गरेको बताएका छन्। आफ्नो व्यक्तिगत मूल्याङ्कनमा प्रियंकाको ‘मास्टर्नी’मा रहेको भूमिका उनका यसअघिका चलचित्रमा देखिएका भूमिकामध्ये उत्कृष्ट रहेको उनले बताएका छन्।

उनले नेपाली चलचित्र निर्माणमा प्रियंका कार्कीले लगानी गर्ने तथा जोखिम उठाउने साहस देखाएको भन्दै उनको प्रयासको प्रशंसा गरेका छन्। नेपाली चलचित्र उद्योगलाई थप प्रतिस्पर्धी र सबल बनाउन ‘मास्टर्नी’ जस्ता चलचित्रले सकारात्मक योगदान पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

आफूले चलचित्रको प्रशंसा गर्नुमा आर्थिक स्वार्थ रहेको भन्ने टिप्पणीको पनि मलहोत्राले खण्डन गरेका छन्। उनले ‘मास्टर्नी’मा आफूले एक रुपैयाँ पनि लगानी नगरेको स्पष्ट पार्दै चलचित्र हेरेर राम्रो लागेको कारण मात्र सकारात्मक प्रतिक्रिया दिएको बताएका छन्।

बरु, चलचित्र हेरेपछि आफूलाई प्रियंका कार्कीको आगामी परियोजनामा लगानी गर्ने सम्भावनाबारे सोच्न प्रेरणा मिलेको उनले उल्लेख गरेका छन्। चलचित्रको प्रभावकारी प्रस्तुति र कथावस्तुले आफूलाई प्रभावित बनाएको उनको भनाइ छ।

मलहोत्राका अनुसार ‘मास्टर्नी’ मन पर्नुको मुख्य कारण यसको कथा र प्रस्तुति हो। चलचित्रमा थ्रिलरलाई कथासँग राम्रोसँग संयोजन गरिएको र कथा अघि बढ्दै जाँदा दर्शकमा उत्सुकता कायम रहने उनको मूल्याङ्कन छ। सभ्य तथा सन्तुलित प्रस्तुति रहेको भन्दै उनले चलचित्र हेर्दा एक क्षण पनि बोरिङ महसुस नभएको बताएका छन्।

उनले कुनै पनि चलचित्रबारे धारणा बनाउनुअघि चलचित्र हेरेर मात्र प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्। चलचित्र राम्रो वा नराम्रो लाग्नु व्यक्तिगत रुचिको विषय भए पनि पूर्वाग्रहपूर्ण वा तथ्यहीन टिप्पणीले कलाकार, निर्माता तथा समग्र नेपाली चलचित्र क्षेत्रलाई निरुत्साहित गर्न सक्ने उनको भनाइ छ।

मलहोत्राले नेपाली चलचित्र क्षेत्रलाई अझ उचाइमा पुर्‍याउन स्वस्थ आलोचना, सकारात्मक सोच तथा सिर्जनात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्। साथै उनले ‘मास्टर्नी’को सम्पूर्ण टिमलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

उनको प्रतिक्रियाले चलचित्र ‘मास्टर्नी’प्रति दर्शक तथा नेपाली चलचित्र क्षेत्रभित्र भइरहेको बहसलाई थप चर्चामा ल्याएको छ। चलचित्रको कथा, कलाकारको अभिनय र प्रस्तुतिको मूल्याङ्कन दर्शकले चलचित्र हेरेपछि आफ्नै दृष्टिकोणबाट गर्नुपर्ने उनको सन्देश छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४