काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र कोशी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही तथा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा समेत वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ।