Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोबाइलमा लामो कुरा गर्दा कानको जालीमा असर, श्रवण शक्ति कमजोर हुने जोखिम


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०८३
  • 760
    SHARES

काठमाडाैं । लामो समयसम्म मोबाइल फोनमा कुराकानी गर्ने तथा कानमा मोबाइल राखेर निरन्तर फोन प्रयोग गर्ने बानीले कानको स्वास्थ्यमा असर पार्न सक्ने चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय कान, नाक तथा घाँटीसम्बन्धी विभिन्न समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ।

भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोग विभागका विभागीय प्रमुख डा. दिनेशकुमार चौधरीका अनुसार पछिल्लो समय अस्पतालमा दैनिक करिब १५० देखि २०० जनासम्म विभिन्न प्रकारका कानसम्बन्धी समस्या लिएर उपचारका लागि आउने गरेका छन्।

डा. चौधरीका अनुसार लामो समयसम्म मोबाइलमा कुरा गर्दा कानमा ध्वनि तथा आवाजको निरन्तर प्रभाव पर्न सक्छ। मोबाइल फोन कानमा लामो समयसम्म राखेर कुरा गर्ने बानीले कानको स्वास्थ्यमा असर पुग्नुका साथै श्रवण क्षमतामा समेत समस्या आउन सक्ने उनले बताए।

उनले लामो समय फोनमा कुराकानी गर्नुपर्ने अवस्था आए मोबाइललाई कानबाट केही टाढा राखेर वा अन्य सुरक्षित माध्यम प्रयोग गरेर कुरा गर्न सुझाव दिएका छन्। लामो समयसम्म कानमा मोबाइल टाँसेर कुरा गर्दा भविष्यमा कानसम्बन्धी गम्भीर समस्या निम्तिन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

चिसो पेय पदार्थको अत्यधिक प्रयोगले पनि समस्या

गर्मी मौसममा अत्यधिक मात्रामा चिसो पेय पदार्थ सेवन गर्दा नाक, कान र घाँटीमा समेत समस्या देखिन सक्ने चिकित्सकहरूले बताएका छन्।

डा. चौधरीका अनुसार पछिल्लो समय नाक, कान तथा घाँटीमा एलर्जीका समस्या भएका बिरामीको संख्या पनि बढिरहेको छ। विशेषगरी अत्यधिक चिसो खानेकुरा तथा पेय पदार्थको सेवन नगर्न उनले सुझाव दिएका छन्।

उनका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई चिसोका कारण समस्या बढी देखिन सक्छ। चिसोका कारण हाछ्युँ गर्दा नाक तथा कानमा दबाब पर्ने र त्यसले पनि नाक तथा कानसम्बन्धी समस्या बढाउन सक्ने उनले बताए।

चिकित्सकहरूका अनुसार वातावरणीय प्रदूषण, धुलो–धुवाँ, एलर्जी तथा अस्वस्थ जीवनशैलीका कारण पनि पछिल्लो समय नाक, कान र घाँटीसम्बन्धी समस्या बढिरहेको छ। सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका समुदायमा यस्ता स्वास्थ्य समस्याको प्रभाव अझ बढी देखिने गरेको चिकित्सकहरूको भनाइ छ।

कान स्वास्थ्य शिविरमा ५३२ जनाको परीक्षण

यसैबीच, लामो समयदेखि कान दुख्ने, कान पाक्ने, कानमा फोहर जम्ने लगायतका समस्या भएका बिरामीका लागि बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क कान स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ।

अस्पतालसम्म पुगेर उपचार गराउन नसक्ने तथा आर्थिक रूपमा कमजोर स्थानीय बासिन्दालाई लक्षित गरी खजुरा गाउँपालिकाले शनिबार निःशुल्क कान स्वास्थ्य शिविर आयोजना गरेको थियो।

शिविरमा गाउँपालिकाका विभिन्न क्षेत्रबाट आएका ५३२ जनाको कान परीक्षण गरिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।

शिविरमा गरिएको परीक्षणका क्रममा ७५ जनामा कान पाक्ने समस्या, ६१ जनामा कानेगुजी जम्ने समस्या, ३३ जनामा कानमा ढुसी देखिएको र १८ जनामा कानमा मेसिन लगाउनुपर्ने अवस्था पाइएको स्वास्थ्यकर्मी भीषण थारुले जानकारी दिए।

त्यस्तै, थप उपचार तथा शल्यक्रियाको आवश्यकता देखिएका २८ जनालाई थप उपचारका लागि अस्पताल पठाइएको स्वास्थ्यकर्मी थारुले बताए।

सामान्य ठानेर उपचार नगर्दा समस्या जटिल बन्न सक्ने

स्वास्थ्यकर्मीहरूका अनुसार कानमा समस्या देखिए पनि सुरुवाती अवस्थामा सामान्य समस्या भन्दै बेवास्ता गर्ने प्रवृत्ति अझै धेरैमा रहेको छ। लामो समयसम्म कान दुख्ने, कान पाक्ने, कानबाट पानी वा अन्य पदार्थ बग्ने, कानमा फोहर जम्ने तथा सुनाइ कम हुनेजस्ता समस्या देखिए पनि समयमै स्वास्थ्य संस्थामा नजाँदा समस्या जटिल बन्न सक्ने उनीहरूको भनाइ छ।

विशेषगरी कानमा संक्रमण वा अन्य समस्या देखिएमा आफैँले औषधि प्रयोग गर्ने, कानमा विभिन्न घरेलु वस्तु हाल्ने तथा लामो समयसम्म उपचार नगर्ने बानीले कानमा थप क्षति पुग्न सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

शिविरमा आएका सेवाग्राहीको कान परीक्षण तथा स्वास्थ्य परामर्शका लागि स्वास्थ्यकर्मी भीषण थारु, तीर्थमान थारु, दामोदर चौधरी र सीताकुमारी चौधरीलगायतको टोली खटिएको थियो।

शिविर सञ्चालनका लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगञ्जले प्राविधिक सहयोग गरेको थियो।

स्थानीयस्तरमै स्वास्थ्य सेवा पुर्‍याउने प्रयास

खजुरा गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ तथा प्राविधिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क कान स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ।

अस्पतालसम्म पुग्न आर्थिक तथा भौगोलिक कठिनाइ भएका नागरिकलाई गाउँमै स्वास्थ्य परीक्षण तथा परामर्श उपलब्ध गराउने उद्देश्यले यस्ता शिविरलाई निरन्तरता दिने गाउँपालिकाको भनाइ छ।

स्वास्थ्यकर्मीहरूले कानमा कुनै समस्या देखिएमा बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थामा परीक्षण गराउन, मोबाइल फोनमा लामो समयसम्म कुरा गर्दा सावधानी अपनाउन तथा अत्यधिक चिसो पेय पदार्थको सेवनबाट बच्न सुझाव दिएका छन्।

पछिल्लो समय मोबाइल फोनको बढ्दो प्रयोगसँगै कानको स्वास्थ्यमा देखिन सक्ने समस्याप्रति विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ। विशेषगरी लामो समय मोबाइल प्रयोग गर्ने व्यक्तिले आवाजको स्तर अत्यधिक नबढाउने, कानमा लगातार मोबाइल टाँसेर लामो समयसम्म कुराकानी नगर्ने तथा कानमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४