एजेन्सी । कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ इजरायली बस्ती निर्माण गर्ने योजनाको बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले संयुक्त रूपमा कडा विरोध गरेका छन्। पाँचै देशले संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वी जेरुसेलम नजिकै नयाँ आवास निर्माणका लागि अघि बढाइएको योजना तत्काल फिर्ता लिन इजरायलसँग आग्रह गरेका छन्।
बीबीसीका अनुसार इजरायलले पूर्वी जेरुसेलम र माले अदुमिम बस्तीबीचको क्षेत्रमा १ हजार २ सय ३४ नयाँ आवास एकाइ निर्माणका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो। यो संख्या यसअघि स्वीकृत ३ हजार ४ सय १ आवास एकाइ मध्ये पहिलो चरणको हिस्सा हो।
इजरायलको आवास मन्त्रालयले बुधबार बोलपत्र प्रक्रिया अघि बढाएको थियो। करिब १२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त परियोजनाको बोलपत्र बुझाउने अन्तिम मिति आगामी अक्टोबर १९ तोकिएको छ।
‘दुई राज्य समाधानमा असर पर्ने’ चेतावनी
बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले यो निर्णयलाई ‘अस्वीकार्य’ भन्दै यसले भविष्यमा स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने सम्भावनालाई थप कमजोर बनाउने बताएका छन्।
ती देशहरूले वेस्ट बैंकमा नयाँ बस्ती विस्तारले शान्ति प्रक्रिया थप जटिल बन्ने, दुई राज्य समाधानको आधार कमजोर हुने र क्षेत्रीय तनाव अझ बढ्न सक्ने चेतावनी दिएका छन्। साथै, यस्तो कदमले अन्तर्राष्ट्रिय समुदायमा इजरायलको प्रतिष्ठामा समेत नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ।
राष्ट्रसंघको गम्भीर चिन्ता
राष्ट्रसंघले पनि इजरायलको यो योजनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघका अनुसार प्रस्तावित बस्ती विस्तार प्यालेस्टिनी राज्य स्थापनाका लागि ‘अस्तित्वगत खतरा’ बन्न सक्ने अवस्था सिर्जना भएको छ।
अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जामा रहेको वेस्ट बैंकमा इजरायली बस्ती विस्तार लामो समयदेखि विवादको विषय रहँदै आएको छ। अधिकांश देश र राष्ट्रसंघले यस्ता बस्तीलाई अन्तर्राष्ट्रिय कानुनविपरीत ठान्दै आएका छन्, जबकि इजरायलले आफ्ना सुरक्षा तथा ऐतिहासिक दाबीलाई आधार बनाएर बस्ती निर्माणलाई निरन्तरता दिँदै आएको छ।
गाजा युद्ध र क्षेत्रीय तनावका बीच वेस्ट बैंकमा नयाँ बस्ती निर्माणको यो निर्णयले मध्यपूर्व शान्ति प्रक्रियामाथि थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।