काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किने भएका छन्। देउवा बिहीबार मध्याह्न साढे १२ बजे नेपाल आइपुग्ने तयारी रहेको स्रोतले जनाएको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा गम्भीर घाइते भएपछि उपचारका लागि देउवा गत कात्तिक १० गते राति सिंगापुर गएका थिए। लामो समय सिंगापुरमा उपचार तथा स्वास्थ्य लाभ गरेपछि उनी स्वदेश फर्किन लागेका हुन्।
सरकार निकट स्रोतका अनुसार देउवाको नेपाल आगमनमा कुनै किसिमको बाधा, अवरोध वा धरपकड नगर्ने विषयमा ‘भद्र समझदारी’ बनेको छ। स्रोतका अनुसार देउवाको स्वदेश फर्किने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्मलाई जानकारी रहेको दाबी गरिएको छ।
स्रोतका अनुसार देउवालाई विमानस्थलबाट स्वतन्त्र रूपमा आवागमन गर्न दिने र कुनै किसिमको अवरोध नगर्ने तयारी छ। साथै, उनलाई उच्च सुरक्षा व्यवस्थासहित निजी निवास महाराजगञ्जसम्म पुर्याउने तयारी गरिएको जनाइएको छ।
देउवा दम्पती सिंगापुरमा उपचाररत रहेकै समयमा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरेका थिए।
पक्राउ पुर्जी जारी भएपछि त्यसलाई रोक्न माग गर्दै देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको तर्फबाट वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका नाममा उक्त अन्तरिम आदेश जारी गरेको थियो।
यससँगै देउवा स्वदेश फर्किएपछि उनको सुरक्षा व्यवस्था, अनुसन्धानसम्बन्धी प्रक्रिया तथा सर्वोच्च अदालतको आदेशको कार्यान्वयन कसरी अघि बढ्छ भन्ने विषयमा चासो बढेको छ। हाललाई भने देउवालाई कुनै अवरोध नगरी उच्च सुरक्षा व्यवस्थासहित महाराजगञ्जस्थित निजी निवाससम्म पुर्याउने तयारी रहेको स्रोतको दाबी छ।