काठमाडौं । लगातारको अविरल वर्षापछि खसेको पहिरोमा परी रोल्पामा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। थवाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति गएको पहिरोले ६ वटा घर तथा गोठ पुरिँदा ठूलो मानवीय क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार राति करिब पौने ९ बजेतिर बस्तीमाथिबाट आएको पहिरोले घरगोठ पुरेको थियो। पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगर रहेका छन्। उनीहरूलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
पहिरोमा परी अझै १० जना बेपत्ता रहेको प्रहरीको प्रारम्भिक विवरण छ। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। लगातार वर्षा भइरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल भौगोलिक रूपमा निकै विकट क्षेत्रमा रहेकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ। पहिरोले घर तथा गोठहरू पुरिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
प्रहरीका अनुसार घटनाको थप विवरण संकलन भइरहेको छ। बेपत्ता व्यक्तिहरूको खोजी, घाइतेको उद्धार तथा घटनास्थलको अवस्थाबारे थप जानकारी आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
लगातारको वर्षाका कारण रोल्पासहित देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढेको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा सम्भावित पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।