काठमाडौं । अविरल वर्षासँगै काठमाडौं र कास्कीसहित देशका ३८ जिल्ला सोमबार आकस्मिक बाढीको जोखिममा पर्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा वर्षा जारी रहेकाले कतिपय साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने जनाएको हो ।
महाशाखाका अनुसार सोमबार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको पूर्वानुमान छ । लगातारको वर्षाका कारण खोला तथा नदीको जलसतह अचानक बढ्न सक्ने भएकाले नदी तथा खोला आसपासका बस्ती र तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको छ ।
ठूला नदीमा पनि बहाव बढ्ने सम्भावना
महाशाखाले केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ । सोमबार बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूमा पानीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ ।
त्यस्तै, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि बिहानको मापनअनुसार सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।
तर वर्षा निरन्तर भइरहेमा नदी तथा खोलाको जलसतह छोटो समयमै बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।
नदी–खोला आसपास विशेष सावधानी आवश्यक
महाशाखाले जोखिममा रहेका जिल्लामा नदी, खोला तथा खोल्सी आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । विशेषगरी रातिको समयमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न आवश्यक छ ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा आकस्मिक बाढीको जोखिमसमेत बढ्न सक्ने भएकाले यात्रामा निस्कने तथा नदी तटीय क्षेत्रमा रहेका नागरिकले मौसम तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिनुपर्ने देखिएको छ ।