काठमाडौं । म्यानमारको जेलमा रहेका १८ जना नेपाली नागरिक रिहा भएका छन् । उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया पनि सुरु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले म्यानमारस्थित नेपाली राजदूतावासको पहल तथा नेपाल सरकारको अनुरोधमा उनीहरूलाई रिहा गरिएको जानकारी दिनुभयो ।
प्रवक्ता क्षेत्रीका अनुसार म्यानमारमा विभिन्न अभियोगमा पक्राउ परी जेलमा रहेका १८ जना नेपाली नागरिकलाई त्यहाँको अदालतले आगामी सेप्टेम्बरको दोस्रो सातामा रिहा गर्ने निर्णय गरेको थियो । तर, नेपाल सरकारले उनीहरूको अवस्था र मानवीय पक्षलाई ध्यानमा राख्दै समय अगावै रिहा गर्न म्यानमार सरकारसँग अनुरोध गरेको थियो ।
नेपाल सरकारको अनुरोधपछि म्यानमार पक्षले अदालतले तोकेको समयभन्दा अगावै उनीहरूलाई रिहा गरेको मन्त्रालयले जनाएको छ । रिहा भएका नेपाली नागरिकलाई आवश्यक कागजी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।
मन्त्रालयका अनुसार रिहा भएका नेपाली नागरिक म्यानमारमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत रहेको पाइएको थियो । केही महिनाअघि म्यानमार प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरूलाई विभिन्न अभियोगमा जेलमा राखिएको थियो ।
म्यानमारमा पछिल्लो समय अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ तथा साइबर ठगी केन्द्रमा विभिन्न देशका नागरिकलाई रोजगारीको प्रलोभन देखाएर लैजाने र त्यहाँबाट गैरकानुनी गतिविधिमा संलग्न गराउने घटना सार्वजनिक हुँदै आएका छन् । यस्ता केन्द्रमा पुगेका नेपाली नागरिक पनि विभिन्न समस्या तथा कानुनी झमेलामा पर्ने गरेका छन् ।
नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्ताका लागि सम्बन्धित देशका सरकार तथा नेपाली नियोगमार्फत पहल गर्दै आएको जनाएको छ । म्यानमारमा जेल परेका नेपाली नागरिकको रिहाइका लागि पनि म्यानमारस्थित नेपाली राजदूतावासले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरेको मन्त्रालयले जनाएको छ ।
रिहा भएका १८ नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउन आवश्यक समन्वय तथा प्रक्रिया अघि बढाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । उनीहरू नेपाल आइपुगेपछि घटनाको थप विवरण तथा उनीहरू म्यानमार कसरी पुगेका थिए भन्ने विषयमा समेत सम्बन्धित निकायबाट जानकारी लिइने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयले विदेशमा रोजगारी वा अन्य अवसरका नाममा जाने नेपाली नागरिकलाई सम्बन्धित देशको कानुन तथा आफू जाने कम्पनी र संस्थाको वैधानिकताबारे आवश्यक जानकारी लिएर मात्र विदेश जान आग्रह गर्दै आएको छ । विशेषगरी अनलाइन रोजगारी, आकर्षक तलब तथा छोटो समयमा ठूलो आम्दानी हुने प्रलोभनमा परी अवैध गतिविधिमा संलग्न संस्थामा नपर्न मन्त्रालयले सचेत गराउँदै आएको छ ।