Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा कालो चस्मा निषेध, नियम उल्लंघन गरे ढोकामै रोक्ने चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २१ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । संघीय संसदको बैठकलाई थप मर्यादित, अनुशासित र व्यवस्थित बनाउन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदका लागि नयाँ आचारसंहिता लागू गर्ने तयारी गरेका छन्। नयाँ व्यवस्थाअनुसार अब संसद बैठकमा कालो चश्मा लगाएर उपस्थित हुन नपाइने, मर्यादित पोशाक अनिवार्य हुने तथा संसदको आधिकारिक लोगो लगाएर मात्र बैठकमा सहभागी हुन पाइने व्यवस्था गरिने भएको छ।

बुधबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख अर्यालले सबै राजनीतिक दलका प्रमुख सचेतक तथा प्रतिनिधिलाई आफ्ना सांसदलाई नयाँ नियमबारे जानकारी गराई कार्यान्वयनका लागि तयारी गर्न निर्देशन दिएका हुन्। बैठकमा नियम उल्लङ्घन गर्ने सांसदमाथि कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

सभामुखले संसदको गरिमा कायम राख्न सांसदहरूको पोशाक, उपस्थितिको शैली र बैठकमा बस्ने अनुशासनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले संसद देशको सर्वोच्च विधायिकी संस्था भएकाले त्यसको मर्यादा कायम राख्न सबै सांसद जिम्मेवार हुनुपर्ने बताएका छन्।

उपसभामुख रुबीकुमारी ठाकुरका अनुसार प्रतिनिधिसभाको नयाँ भवनमा बैठक सुरु भएपछि यी नियमहरू पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछन्। उनले मर्यादित पोशाक नलगाई आउने, संसदको लोगो नलगाउने वा कालो चश्मा लगाएर आउने सांसदलाई प्रवेशद्वारबाटै रोक्ने तयारी गरिएको जानकारी दिइन्।

नयाँ व्यवस्थाअनुसार संसद बैठक चलिरहेका बेला सांसदहरूलाई अनावश्यक रूपमा बाहिर निस्किन पनि रोक लगाइने भएको छ। सभामुख अर्यालले बैठकका क्रममा बारम्बार सांसद बाहिरिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै अब अत्यावश्यक अवस्थाबाहेक बैठक कक्ष छाड्न नपाइने व्यवस्था गरिने बताएका छन्।

सहमतिअनुसार वासरुम प्रयोग, अत्यावश्यक फोन वा स्वास्थ्यसम्बन्धी विशेष कारणबाहेक चिया–कफी, खाजा वा अन्य व्यक्तिगत कारणले बैठक चलिरहेका बेला बाहिर जान नपाइनेछ। यसबाट संसदको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यद्यपि स्वास्थ्य समस्याका कारण कालो चश्मा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सांसदका हकमा भने छुटको व्यवस्था गरिने भएको छ। सभामुख सचिवालयका अनुसार त्यस्ता सांसदले चिकित्सकको सिफारिससहितको मेडिकल प्रमाणपत्र पेस गरेपछि मात्र कालो चश्मा प्रयोग गर्न अनुमति दिइनेछ।

संसद सचिवालयको अभिलेखअनुसार हालसम्म प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्सालसहित केही मन्त्री तथा सांसदहरू संसद बैठकमा कालो चश्मा लगाएर सहभागी हुने गरेका छन्। कतिपय मन्त्री तथा सांसदले संसदको आधिकारिक लोगोसमेत नलगाई बैठकमा उपस्थित हुने गरेको सचिवालयको अभिलेखमा उल्लेख छ।

संसद सचिवालयका अनुसार नयाँ आचारसंहिताको उद्देश्य सांसदहरूको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्नु नभई संसदको गरिमा, अनुशासन र संस्थागत मर्यादालाई थप सुदृढ बनाउनु हो। नयाँ नियम लागू भएपछि संसद बैठक थप व्यवस्थित, प्रभावकारी र मर्यादित बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४