Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनुषामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो, एक वर्षमै ३३३ नयाँ मुद्दा दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २० २०८३
  • 912
    SHARES

काठमाडौं । धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटनामा उल्लेखनीय वृद्धि भएको छ। जिल्ला अदालत धनुषाको तथ्याङ्कअनुसार सामाजिक संरचनामा आएको परिवर्तन, वैदेशिक रोजगारी, आर्थिक समस्या, आधुनिक जीवनशैली तथा पारिवारिक विवादका कारण वैवाहिक सम्बन्ध अन्त्य गर्ने दम्पतीको संख्या वर्षेनी बढ्दै गएको देखिएको छ।

जिल्ला अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा नयाँ मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ वटा मुद्दा समेत जोड्दा अदालतमा कुल ५०० वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा विचाराधीन रहेका थिए।

तीमध्ये २८१ वटा मुद्दाको फैसला भइसकेको छ भने २१९ वटा मुद्दा अझै विचाराधीन रहेको महतोले जानकारी दिए।

त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ३१५ वटा नयाँ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। सो वर्ष ३४७ वटा मुद्दाको फैसला गरिएको थियो भने १६७ वटा मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए। पछिल्ला दुई वर्षको तथ्याङ्कले सम्बन्धविच्छेदका मुद्दा निरन्तर बढिरहेको स्पष्ट देखाएको छ।

कानुन व्यवसायी राजकुमार महासेठका अनुसार शिक्षाको विस्तारसँगै महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी अलग बस्नुपर्ने अवस्था, सामाजिक सञ्जालको बढ्दो प्रभाव, पारिवारिक असमझदारी, घरेलु हिंसा तथा व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो चेतनाले सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन्।

उनका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीबाट आएको सामाजिक परिवर्तन, एकल जीवनशैलीप्रतिको आकर्षण तथा व्यक्तिगत अधिकारप्रति बढ्दो सचेतनाले दाम्पत्य सम्बन्धमा नयाँ चुनौती थपिएको छ। अहिले महिला र पुरुष दुवैले आफू अन्यायमा परेको महसुस भए कानुनी उपचार खोज्ने प्रवृत्ति पनि उल्लेखनीय रूपमा बढेको उनले बताए।

कानुन व्यवसायी दीपककुमार विश्वकर्माका अनुसार सम्बन्धविच्छेदसम्बन्धी मुद्दा बढ्दै जाँदा अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थता (मेडिएसन) सेवाको आवश्यकता पनि बढ्दै गएको छ। समयमै वैवाहिक परामर्श, मनोवैज्ञानिक सहयोग, पारिवारिक संवाद र वैवाहिक शिक्षालाई प्रभावकारी रूपमा अघि बढाउन सके धेरै दम्पतीलाई सम्बन्धविच्छेदको अवस्थासम्म पुग्नबाट जोगाउन सकिने उनको भनाइ छ।

विशेषज्ञहरूका अनुसार सम्बन्धविच्छेदका घटनामा आएको वृद्धिले एकातिर व्यक्तिगत अधिकार र कानुनी सचेतनाको विस्तारलाई देखाए पनि अर्कोतर्फ परिवारभित्र संवाद, विश्वास, सहिष्णुता र आपसी समझदारी कमजोर बन्दै गएको संकेत पनि गरेको छ। त्यसैले परिवार, समुदाय र सम्बन्धित निकायले वैवाहिक सम्बन्ध सुदृढ बनाउन परामर्श र मध्यस्थतामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४