काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष, विश्वसनीय र पारदर्शी छानबिनको माग गर्नुभएको हो।
बैठकको सुरुमै बोल्दै प्रमुख सचेतक थापाले घटनामा नागरिकको ज्यान जानु अत्यन्त दुःखद र चिन्ताजनक भएको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो।
उहाँले देवानगन्ज घटनापछि प्रधानमन्त्री र गृहमन्त्री दुवै मौन बसेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाउनुभयो। यति गम्भीर घटनापछि सरकारका उच्च नेतृत्वबाट कुनै स्पष्ट धारणा वा जवाफ नआउनु जिम्मेवारीबाट पन्छिन खोजेको संकेत भएको उहाँको टिप्पणी थियो।
प्रमुख सचेतक थापाले नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा पनि सरकारसँग स्पष्ट जवाफ माग गर्नुभयो। सुरक्षा निकायले गोली चलाउनुपर्ने अवस्था कसरी आयो, त्यसअघि के–कस्ता प्रयास गरिए र परिस्थितिलाई नियन्त्रणमा लिन अन्य विकल्प किन प्रयोग गरिएन भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले कुनै पनि व्यक्ति वा समूहको उक्साहट, अफवाह तथा घृणाको राजनीतिले नेपाली समाजको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई कमजोर बनाउन नसक्ने उल्लेख गर्नुभयो। विविधतायुक्त नेपाली समाजमा शान्ति, सहअस्तित्व र आपसी विश्वास कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उहाँले बताउनुभयो।
कांग्रेसले घटनाको निष्पक्ष अनुसन्धानका लागि स्वतन्त्र र विश्वसनीय संयन्त्रमार्फत छानबिन गर्नुपर्ने, घटनामा भएका कमजोरीको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक सुधार गर्न सरकारलाई आग्रह गरेको छ।
साथै, प्रमुख सचेतक थापाले सम्पूर्ण नेपालीलाई अफवाहको पछि नलाग्न, संयमता अपनाउन तथा सामाजिक सद्भाव, सहिष्णुता र शान्तिको पक्षमा एकजुट हुन आह्वान गर्नुभयो। उहाँले लोकतान्त्रिक समाजमा कानूनको शासन, मानवअधिकारको सम्मान र नागरिक सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।