काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ गुरु पूर्णिमा तथा व्यास जयन्ती मनाइँदै छ। ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुजनप्रति सम्मान व्यक्त गर्ने यस पर्वलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने गर्छन्।
धार्मिक मान्यताअनुसार ‘गु’ शब्दको अर्थ अन्धकार र ‘रु’ शब्दको अर्थ प्रकाश हो। अर्थात् अज्ञानरूपी अन्धकार हटाएर ज्ञानरूपी उज्यालो प्रदान गर्ने व्यक्तिलाई गुरु भनिन्छ। तन्त्रशास्त्र, धर्मशास्त्र तथा विभिन्न धार्मिक ग्रन्थहरूमा गुरुको स्थान अत्यन्त उच्च रहेको उल्लेख गरिएको छ। गुरुले व्यक्तिको जीवनलाई सही दिशा प्रदान गर्ने भएकाले समाज निर्माणमा उनीहरूको भूमिका अतुलनीय मानिन्छ।
हिन्दू शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपका रूपमा सम्मान गरिएको छ। त्यसैले प्राचीनकालदेखि नै प्रचलित प्रसिद्ध श्लोक—
—मार्फत गुरुको महिमा वर्णन गरिएको पाइन्छ। यसैगरी ‘आचार्यदेवो भव’ भन्ने वैदिक शिक्षाले पनि गुरु देवतासमान पूजनीय हुने सन्देश दिएको छ। माता–पितापछि गुरु नै जीवनका मार्गदर्शक मानिने भएकाले यस दिन विद्यार्थीहरूले आफ्ना शिक्षक तथा गुरुजनप्रति सम्मान व्यक्त गर्ने परम्परा रहेको छ।
गुरु पूर्णिमाको अवसरमा देशभरका विद्यालय, क्याम्पस, गुरुकुल, आश्रम तथा विभिन्न सामाजिक एवं शैक्षिक संस्थाहरूले विशेष कार्यक्रम आयोजना गरी गुरुजनलाई सम्मान, अभिनन्दन तथा कृतज्ञता प्रकट गर्ने गरेका छन्। कतिपय स्थानमा विद्यार्थीहरूले आफ्ना गुरुबाट आशीर्वाद लिने, सम्मानपत्र प्रदान गर्ने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा पनि रहेको छ।
व्यास जयन्ती पनि आजै
गुरु पूर्णिमाकै दिन वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ। धार्मिक विश्वासअनुसार आषाढ शुक्ल पूर्णिमाकै दिन महर्षि वेदव्यासको जन्म भएकाले यस दिन उनको स्मरण गर्दै विशेष पूजा, प्रवचन तथा धार्मिक कार्यक्रम गरिन्छ।
महर्षि वेदव्यासले विशाल वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी अध्ययन र अध्यापनलाई सहज बनाएका थिए। साथै उनले संस्कृत भाषामा १८ पुराण, १८ उपपुराण तथा मानव सभ्यताको महान ग्रन्थ महाभारतको रचना गरेका कारण उनी भारतीय दर्शन र वैदिक परम्पराका महान ऋषिका रूपमा सम्मानित छन्।
व्यासले आफ्ना ग्रन्थमार्फत मानव समाजलाई परोपकार, नैतिकता र मानवताको सन्देश दिएका छन्। उनको प्रसिद्ध भनाइ—
—को अर्थ अरूको हित गर्नु नै पुण्य र अरूलाई दुःख दिनु पाप हो भन्ने हो। यही शिक्षाले आज पनि मानव समाजलाई नैतिक मार्गमा अघि बढ्न प्रेरित गरिरहेको छ।
महाभारतलाई ‘पाँचौँ वेद’ समेत भनिने गरिन्छ। धर्म, नीति, दर्शन, राजनीति र जीवन व्यवस्थापनका गहन विषय समेटिएको यो ग्रन्थ आज पनि विश्वभर अध्ययन गरिने महत्वपूर्ण धार्मिक तथा साहित्यिक कृति मानिन्छ।
विशेष कार्यक्रमको आयोजना
गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौंको चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गुरु पूर्णिमाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वबारे प्रवचन, वैदिक पूजा तथा विभिन्न धार्मिक गतिविधि सञ्चालन गरिने जनाइएको छ।
फाउन्डेसनका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाका अनुसार कार्यक्रममा गुरु–शिष्य परम्पराको महत्व, वैदिक शिक्षाको संरक्षण तथा समाजमा नैतिक मूल्यको विकासबारे विशेष प्रकाश पारिनेछ।
गुरु पूर्णिमा केवल धार्मिक पर्व मात्र नभई ज्ञान, अनुशासन, संस्कार र कृतज्ञताको भावना अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित छ। आधुनिक शिक्षासँगै जीवनका मूल्य र संस्कार सिकाउने गुरुजनप्रति सम्मान प्रकट गर्दै आज देशभर विविध कार्यक्रमका साथ यो पर्व उल्लासपूर्वक मनाइँदै छ।