Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, बिहानैदेखि दर्शन र पूजाआराधना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ११ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको विशेष आस्थाको महिना साउनको दोस्रो सोमबार आज बिहानैदेखि काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको उल्लेखनीय भीड लागेको छ। साउने झरीको समेत पर्वाह नगरी हजारौँ भक्तजन बिहानैदेखि भगवान् शिवको दर्शन तथा पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार आज बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका श्रद्धालुका लागि खोलिएको हो। कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले साउने सोमबारको विशेष अवसरलाई लक्षित गर्दै भक्तजनको सहज दर्शनका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिएको जानकारी दिइन्। उनका अनुसार वर्षा भइरहे पनि बिहानैदेखि दर्शनार्थीको आगमन निरन्तर जारी रहेको छ।

कोषले यस वर्षको दोस्रो सोमबार पहिलो सोमबारको अनुभवलाई आधार बनाएर थप व्यवस्थापन गरिएको जनाएको छ। गत साता बाँकी रहेका केही पूर्वतयारीका कामहरू यसपटक पूरा गरिएकाले दर्शन व्यवस्थापन अझ व्यवस्थित र प्रभावकारी बनेको बताइएको छ।

दर्शनलाई सहज, सुरक्षित र मर्यादित बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, मन्दिर पहरा गण, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाका स्वयंसेवकहरू परिचालन गरिएका छन्। भीड व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा तथा आपत्कालीन उद्धारका लागि विशेष तयारी गरिएको छ।

कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार साउनका सोमबारमा पशुपतिनाथ दर्शनका लागि लाखौँ भक्तजन आउने भएकाले दर्शनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन विशेष योजना लागू गरिएको छ। भक्तजनलाई लामो समयसम्म असहज नहोस् भन्ने उद्देश्यले प्रवेश र बाहिरिने मार्गलाई व्यवस्थित गरिएको छ।

आज बिहान ३:०० बजेदेखि खुलेका मन्दिरका चारै ढोका साँझको आरती सम्पन्न भएपछि राति ८:०० बजेसम्म खुला रहनेछन्। यस्तै, विशेष पूजा बिहान ८:३० बजेदेखि मध्याह्न १२:०० बजेसम्म मात्र सञ्चालन हुनेछ। दर्शनार्थीका लागि चार वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ, जसले भीड व्यवस्थापनमा सहजता ल्याएको कोषले जनाएको छ।

बिहानैदेखि भक्तजनको आगमन भए पनि अत्यधिक लाम नदेखिएको कोषको भनाइ छ। दर्शनार्थीको सुविधाका लागि प्राथमिक उपचार केन्द्र, खानेपानी, शौचालय, सुरक्षा निगरानी तथा अन्य आवश्यक सेवा पनि उपलब्ध गराइएको छ।

पशुपतिनाथ मन्दिर मात्र होइन, राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेव (सानो पशुपतिनाथ) लगायतका प्रमुख शिवालयमा पनि बिहानैदेखि श्रद्धालुको ठूलो भीड लागेको छ। भक्तजनले शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो, फूल तथा अन्य पूजासामग्री अर्पण गर्दै भगवान् शिवको आराधना गरिरहेका छन्।

त्यसैगरी, कोशीदेखि सुदूरपश्चिमसम्म देशभर रहेका प्रमुख शिव मन्दिर तथा शिवालयहरूमा पनि भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ। साउन महिनाको सोमबार भगवान् शिवको पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष यस अवसरमा देशभरका शिवालयमा ठूलो संख्यामा श्रद्धालु पुग्ने परम्परा रहँदै आएको छ।

सुरक्षा निकाय र सम्बन्धित निकायहरूले भक्तजनलाई धैर्यपूर्वक दर्शन गर्न, सुरक्षासम्बन्धी निर्देशन पालना गर्न तथा भीडभाड हुने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४