काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार नेपाल अर्ग्यानिक क्षेत्रको विकास, उद्योग प्रवर्द्धन तथा व्यवसायीका समस्याबारे छलफल गर्न नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान ११:३० बजेदेखि हुने छलफलमा अर्ग्यानिक कृषि, चिया उद्योग तथा कृषि–आधारित व्यवसायसँग सम्बन्धित प्रमुख व्यवसायीहरूको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुने कार्यक्रम तय भएको छ।
बैठकमा नेपालमा अर्ग्यानिक कृषि उत्पादनको विस्तार, अर्ग्यानिक वस्तुको बजारीकरण, निर्यात प्रवर्द्धन, उद्योग सञ्चालनमा देखिएका चुनौती, सरकारी नीतिगत सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माणलगायत विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीहरूसँग नियमित संवाद गर्दै आउनुभएको छ। निजी क्षेत्रका सुझाव र समस्यालाई प्रत्यक्ष रूपमा सुनेर आवश्यक नीतिगत तथा प्रशासनिक सुधारमार्फत सम्बोधन गर्ने सरकारको नीति रहेको सचिवालयले जनाएको छ।
पछिल्ला महिनाहरूमा प्रधानमन्त्री शाहले उत्पादन, निर्यात, कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक उद्योगसँग आबद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिसँग श्रृंखलाबद्ध छलफल गर्दै व्यवसायिक वातावरण सुधार, स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारका विषयमा सुझाव संकलन गरिरहनुभएको छ।
अर्ग्यानिक उत्पादनप्रति विश्वव्यापी आकर्षण बढिरहेका बेला नेपालमा पनि अर्ग्यानिक कृषि तथा चिया उद्योगको सम्भावना उच्च रहेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले उत्पादन वृद्धि, अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, गुणस्तर प्रमाणीकरण, वित्तीय सहुलियत तथा आवश्यक पूर्वाधार विकासमा सरकारले थप सहयोग गर्नुपर्ने माग गर्दै आएका छन्।
सरकारले निजी क्षेत्रसँगको निरन्तर संवादमार्फत उद्योग तथा व्यवसाय प्रवर्द्धन, लगानी वृद्धि र आर्थिक गतिविधिलाई चलायमान बनाउने रणनीति अघि बढाइरहेको जनाएको छ।