काठमाडौं । नेपाली कांग्रेसले जननायक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना गरेको छ।
‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित आयोजना गरिएको दौडको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार बिहान युएन पार्कबाट गरेका हुन्। युएन पार्कबाट सुरु भएको दौड जावलाखेल पुगेर सम्पन्न हुनेछ।
कांग्रेसका अनुसार ‘ग्रिन रन’को उद्देश्य वीपी कोइरालाको स्मृतिलाई सम्मान गर्दै जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउनु र वातावरण संरक्षणप्रति नागरिकलाई सचेत गराउनु हो।
दौड सम्पन्न भएपछि जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती र निराकरण कसरी’ विषयमा विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिने कार्यक्रम छ। छलफलमा जलवायु परिवर्तनका प्रभाव, नेपालले सामना गरिरहेका चुनौती तथा सम्भावित समाधानका उपायबारे विचार आदान–प्रदान गरिने जनाइएको छ।
यस्तै, सोही कार्यक्रममा सुपरिचित चित्रकारहरूले जलवायु परिवर्तनका चुनौती, वातावरण संरक्षणको आवश्यकता तथा हरित भविष्यका सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने विशेष पेन्टिङ कार्यक्रम पनि राखिएको छ।
नेपाली कांग्रेसले यस वर्ष वीपी कोइरालाको स्मृति दिवसलाई केवल श्रद्धाञ्जलीमा सीमित नराखी जलवायु परिवर्तनजस्तो विश्वव्यापी चुनौतीप्रति समाजलाई सचेत गराउने अभियानसँग जोडेर विविध कार्यक्रम आयोजना गरेको जनाएको छ। यसमार्फत वातावरण संरक्षण, हरित विकास र दिगो भविष्यका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको कांग्रेसको भनाइ छ।