Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २८ २०८३
  • 988
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।

राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।

मुहान क्षेत्रका बासिन्दाले नै खानेपानी नपाएको विषयमा स्थानीय तथा सङ्घीय जनप्रतिनिधिले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान भएको छैन ।

संसद्को खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिको गत साताको बैठकमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएका थिए ।

शनिबार उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग बैठक गरी स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७।५ किलोमिटर सुरुङमार्फत सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी यहीँ प्रशोधन गरी राजधानीमा वितरण गरिन्छ । यसका साथै वाग्मती नदीको पानी पनि सुन्दरीजलबाट प्रशोधन गरी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण हुँदै आएको छ तर पानीको स्रोतस्थल आसपासका बासिन्दा भने अझै नियमित खानेपानी सेवाबाट वञ्चित छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाले १० लिटर खानेपानीका लागि गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म करिब आधा घण्टा पैदल जानुपर्ने र पानी भर्ने पालोको प्रतीक्षामा दुई घण्टासम्म समय खर्चिनुपर्ने बाध्यता सुनाए ।

‘धारामा सधैँ लामो लाम हुन्छ, घण्टौँको प्रतीक्षा पछिमात्र पालो आउँछ,’ उनी दुखेसो पोख्छन् ।

सोही वडाका केशवप्रसाद पुडासैनीले नगरपालिकाले विभिन्न खानेपानी आयोजना सम्पन्न गरेको दाबी गरे पनि दिगो व्यवस्थापन नहुँदा संविधानले प्रत्याभूत गरेको स्वच्छ खानेपानीको अधिकारबाट स्थानीयवासी वञ्चित हुनुपरेको गुनासो गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट आवश्यक पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा खानेपानी वितरण हुन नसकेको स्वीकार गरे ।

स्थानीयवासी प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको छ । उनले केन्द्रको शीघ्र मर्मत गरी स्थानीय बासिन्दालाई नियमित र स्वच्छ खानेपानी उपलब्ध गराउन माग गरे ।

केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा समस्या पुरानो वितरण प्रणालीका कारण भएको बताए । पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उनले जानकारी दिए ।

यसैबीच, सुन्दरीजलको वाग्मतीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो हुने गरेको अत्तरखेलका स्थानीयवासी नोर्साङ शेर्पाले गुनासो गरे । उनका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या हुने गरेको छ ।

नागरिक समाजले एक दशकदेखि यो विषय उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४