काठमाडौं । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। होल्डिङ सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारहरू गम्भीर समस्यामा परेका छन्।
शनिबार रातिदेखि परेको लगातार वर्षासँगै सेन्टरका अधिकांश कोठाभित्र घुँडाभन्दा माथिसम्म पानी जमेको छ। डुबानका कारण पीडितहरूको लत्ताकपडा, खाद्यान्न, ओढ्ने–ओछ्याउने तथा दैनिक उपभोग्य सामग्री पानीमा डुबेर नष्ट भएका छन्। केही परिवारले नियमित सेवन गर्नुपर्ने औषधिसमेत सुरक्षित राख्न नसकेको बताएका छन्।
आश्रित गिर्वाणिका थापाका अनुसार पानीको सतह लगातार बढेपछि सामान सुरक्षित स्थानमा सार्ने अवस्था नै रहेन। उनले उद्धार टोली समयमै नपुगेकाले रातभर त्रासमा बस्नुपरेको गुनासो गरिन्।
उनका अनुसार सुरक्षाकर्मीहरू केही ढिलो गरी घटनास्थलमा पुगेपछि अहिले डुङ्गाको प्रयोग गरेर मानिस तथा सामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ। तर डुबानका कारण धेरै सामग्रीमा क्षति पुगिसकेको पीडितहरूको भनाइ छ।
होल्डिङ सेन्टरमा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू समेत आश्रित रहेकाले उनीहरूको स्वास्थ्य अवस्थाप्रति चिन्ता बढेको छ। चिसो, ओसिलो वातावरण र सरसफाइको अभावले थप स्वास्थ्य समस्या निम्तिन सक्ने जोखिम रहेको स्थानीयहरूले बताएका छन्।
पीडितहरूले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण, प्रभावकारी उद्धार, खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। उनीहरूले वर्षायाममा असुरक्षित स्थानमा राखिएका कारण आफूहरूले बारम्बार दुःख पाउनुपरेको भन्दै दीर्घकालीन र सुरक्षित पुनर्स्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।