काठमाडौं । देशका विभिन्न जिल्लामा बिहीबारदेखि वर्षाको तीव्रता बढ्ने पूर्वानुमानसँगै नदी तथा खोला किनारका बस्तीमा बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर तथा आसपासका जिल्लाबाट बग्ने स–साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी किनार, तटीय बस्ती तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ।
मौसमविद्का अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ तथा वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, बिहीबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। भारी वर्षाका कारण पहिरो, डुबान, सडक अवरुद्ध हुने तथा नदीको सतह अचानक बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार बिहीबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित वर्षा र केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।
त्यसैगरी मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागले विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा बढी भारी वर्षा हुने सम्भावना औँल्याएको छ। यसका कारण स–साना नदी तथा खोलामा आकस्मिक बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा कमजोर भूभागमा बसोबास गर्ने नागरिकलाई मौसमको अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न र आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन अनुरोध गरेको छ।