काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी तथा पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षा गराउने प्रणाली अझै सक्रिय रहेको हो।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। मनसुन सक्रिय रहेकाले दिनभर र रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी मधेस प्रदेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
निरन्तर वर्षासँगै नदी–नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा तराई क्षेत्रमा डुबान हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। सडकमार्गबाट यात्रा गर्ने, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। साथै चट्याङ, हावाहुरी र वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक पूर्वतयारी गर्न महाशाखाले सुझाव दिएको छ।