Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २१ २०८३
  • 532
    SHARES

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (एआईजीपी) नारायणदत्त पौडेल संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजना हुने पाँचौँ ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट (UNCOPS 2026)’ मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय समिट असार २३ र २४ गते (जुलाई ७–८) सञ्चालन हुनेछ। विश्वका विभिन्न मुलुकका प्रहरी संगठनका प्रमुख, सुरक्षा विज्ञ तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूको सहभागिता रहने समिटमा विश्वव्यापी सुरक्षा चुनौती, शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य तथा आधुनिक प्रहरी व्यवस्थापनका विविध विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूले बिदाइ गरेका थिए। दुवै सुरक्षा निकायका प्रमुखको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सुरक्षा क्षेत्रको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार समिटमा संयुक्त राष्ट्रसंघअन्तर्गत सञ्चालन हुने शान्ति स्थापना मिसनमा प्रहरीको भूमिका, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, सीमापार अपराध नियन्त्रण, आतंकवाद तथा संगठित अपराधविरुद्धको समन्वय, डिजिटल प्रविधिको प्रयोग, कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोग, साइबर सुरक्षा तथा आधुनिक प्रहरी व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ।

भ्रमणका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै संयुक्त अरब इमिरेट्स (यूएई) का प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ। भेटवार्तामा नेपाल र यूएईबीच सुरक्षा सहकार्य, अनुभव आदानप्रदान तथा क्षमता अभिवृद्धिसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल प्रहरी संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति स्थापना मिसनमा लामो समयदेखि सक्रिय रूपमा सहभागी हुँदै आएको छ। नेपाली प्रहरीको व्यावसायिक दक्षता, अनुशासन र शान्ति स्थापनामा दिएको योगदान अन्तर्राष्ट्रिय रूपमा प्रशंसित मानिन्छ। यस समिटमा नेपालको सहभागिताले भविष्यमा शान्ति स्थापना मिसनमा थप अवसर तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैबीच, प्रहरी महानिरीक्षक कार्की विदेश भ्रमणमा रहँदासम्म नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक तथा संगठनात्मक कार्यसम्पादनको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) राजन अधिकारीले सम्हाल्ने नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४