काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले गत मंसिरसम्मको स्वास्थ्य बीमा दाबीको भुक्तानी सम्पन्न भएको जनाएको छ। बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई मंसिरसम्मको दाबी रकम भुक्तानी गरिसकिएको र पुस महिनादेखिको दाबी रकम भने अझै भुक्तानी हुन बाँकी रहेको जानकारी दिएको हो।
बोर्डका अनुसार हाल पुस यताको करिब सात महिनाको दाबी रकम भुक्तानी हुन बाँकी छ। सरकारले आवश्यक बजेट विनियोजन गरेपछि मात्र उक्त रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइने जनाएको छ।
विज्ञप्तिअनुसार चालु आर्थिक वर्षमा विभिन्न चरणमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको छ। बाँकी दाबी रकमका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने प्रयास भइरहेको बोर्डले जनाएको छ।
यसैबीच, बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र दिगोपन कायम राख्न बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा तथा परीक्षणको माग नगर्न आग्रह गरेको छ। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकता नभएका परीक्षण वा उपचार गर्न दबाब नदिन पनि अनुरोध गरेको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि उपचार तथा परीक्षण गर्दा चिकित्सकीय आवश्यकता, प्रचलित मापदण्ड र स्वास्थ्य बीमा कार्यक्रमका नियमहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। अनावश्यक परीक्षण तथा उपचारले स्वास्थ्य बीमा कोषमा आर्थिक भार थपिने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने बोर्डको भनाइ छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउन सरकार, स्वास्थ्य संस्था, चिकित्सक तथा बीमित सबैको सहकार्य आवश्यक रहेको बोर्डले उल्लेख गरेको छ। साथै, बाँकी दाबी रकमको भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बोर्डले जनाएको छ।
