कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्। हेल्मेट नलगाई मोटरसाइकल चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनीमाथि ट्राफिक ऐनअनुसार ५ सय रुपैयाँ जरिबाना गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्य नेतृत्वको टोली मुख्यमन्त्री निवासमै पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जरिबाना असुल गरेको जनाएको छ। ट्राफिक प्रहरीले जारी गरेको चिटमा मुख्यमन्त्री शाहले हेल्मेट प्रयोग नगरी सवारी चलाएको उल्लेख गरिएको छ।
प्रहरीका अनुसार सडक सुरक्षासम्बन्धी नियम सबै नागरिकका लागि समान रूपमा लागू हुने भएकाले पद र जिम्मेवारीका आधारमा कुनै पनि व्यक्तिलाई छुट नदिइएको हो। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि कानुन सबैमाथि समान रूपमा लागू हुने सन्देश दिन पनि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।
नेपालको प्रचलित ट्राफिक व्यवस्थाअनुसार मोटरसाइकल वा स्कुटर चालक तथा पछाडि बस्ने यात्रुले समेत अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था छ। हेल्मेट प्रयोग नगर्दा दुर्घटनाका बेला टाउकोमा गम्भीर चोट लाग्ने जोखिम अत्यधिक हुने भएकाले यसलाई सडक सुरक्षाको महत्वपूर्ण उपाय मानिन्छ।
मुख्यमन्त्री शाहमाथिको कारबाहीपछि सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया आएका छन्। धेरैले ट्राफिक प्रहरीले उच्च पदस्थ व्यक्तिमाथि पनि समान रूपमा कानुन लागू गरेको भन्दै प्रशंसा गरेका छन् भने केहीले जनप्रतिनिधिहरू स्वयंले ट्राफिक नियमको पूर्ण पालना गरेर नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
ट्राफिक प्रहरीले पछिल्लो समय हेल्मेट प्रयोग, सिटबेल्ट, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभरस्पिड, लेन अनुशासन उल्लंघन तथा कागजातबिनाको सवारी सञ्चालनजस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइ गरेको जनाएको छ।
प्रहरीले सबै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सुरक्षाका आवश्यक मापदण्ड अपनाउन तथा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ। मुख्यमन्त्री शाहमाथि गरिएको कारबाहीले कानुन सबैका लागि समान रहेको सन्देश दिएको भन्दै ट्राफिक नियमको पालनामा सबैले जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइएको छ।
हेर्नुहोस् ट्राफिकले तिराएको जरिबानाः
