चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा देश तथा विदेशबाट गरी कुल चार हजार २११ प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीले सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत प्रतिनिधि चयन गरेको जनाएको छ।
पार्टी सचिवालयका संगठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया लगभग पूरा भइसकेको छ। उनका अनुसार ३३ देशमा रहेका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै, पार्टी विधानअनुसार सभापतिबाट १३८ जना प्रतिनिधि मनोनयन गरिएका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेका व्यक्तिहरूमध्ये १९२ जनालाई प्रतिनिधिका रूपमा चयन गरिएको छ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा धेरै ७९४ जना प्रतिनिधि सहभागी हुनेछन्। त्यसपछि मधेस प्रदेशबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोशीबाट ३६४ तथा कर्णाली प्रदेशबाट ३४३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ।
महाधिवेशन प्रतिनिधिको संरचनामा पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यलाई समेटिएको छ। पालिका सभापति, क्षेत्रीय सभापति तथा उपसभापति, जिल्ला सभापतिसहित पाँच जनासम्म प्रतिनिधित्व सुनिश्चित गरिएको छ। साथै प्रदेश समितिका सम्पूर्ण सदस्य, प्रदेशस्तरीय विभागका पदाधिकारी, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का सदस्यहरू पनि स्वतः प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, संघीय नेतृत्व मञ्चका सम्पूर्ण केन्द्रीय सदस्यहरू, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट समेत ११–११ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यसले पार्टीका विभिन्न संरचनाको व्यापक सहभागिता सुनिश्चित गरेको देखिन्छ।
स्थानीय तहको प्रतिनिधित्वलाई समेत विशेष प्राथमिकता दिइएको छ। प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना तथा महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएको छ। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना तथा जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
महाधिवेशनमा पार्टीका वर्तमान संरचनामात्र नभई विगतका निर्वाचनमा सक्रिय भूमिका खेलेका व्यक्तिहरूलाई समेत समेटिएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार बनेर पराजित भएका तथा समानुपातिक सूचीमा रहेका व्यक्तिहरूलाई पनि प्रतिनिधिको जिम्मेवारी दिइएको छ। पार्टीमा निरन्तर सक्रिय रहेका त्यस्ता नेताहरूको सहभागिताले महाधिवेशनलाई थप समावेशी बनाएको बताइएको छ।
यसैगरी, केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरूलाई समेत महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराइएको छ। पार्टीले विविध तह र संरचनाबाट प्रतिनिधित्व सुनिश्चित गर्दै संगठनभित्रको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यले प्रतिनिधि चयन गरेको जनाएको छ।
चार वर्षअघि स्थापना भएको रास्वपाले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन, संगठनात्मक पुनर्संरचना तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन हुनुका साथै विधान, नीति तथा संगठनात्मक विषयमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।