काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।
आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसका लागि सांसदहरूलाई दिउँसो ३ः४५ बजेभित्र प्रतिनिधिसभा कक्ष, सिंहदरबारमा उपस्थित हुन आग्रह गरिएको छ ।
यसअघि आजै दिउँसो २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र पढेर सुनाउनेछन् भने सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन पनि गरिनेछ ।
आजको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गरिनेछ । साथै प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुली ले समितिको प्रतिवेदन, २०८३ पेस गर्नेछन् ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण सम्बन्धी अध्यादेश पेस गर्नेछन् भने कानुनमन्त्री सोविता गौतम ले केही नेपाल ऐन संशोधन अध्यादेश प्रस्तुत गर्नेछिन् ।
भूमि व्यवस्था मन्त्री प्रतिभा रावल ले सहकारी सम्बन्धी संशोधन अध्यादेश, स्वास्थ्यमन्त्री निशा मेहता ले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी संशोधन अध्यादेश तथा शिक्षामन्त्री सस्मित पोखरेल ले विश्वविद्यालय सम्बन्धी संशोधन अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।
उक्त अध्यादेशहरू राष्ट्रियसभाको बैठकमा समेत पेस गरिने जनाइएको छ ।