काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल ले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। शुक्रबार सिंहदरबारस्थित संघीय संसद सचिवालय मा पुगेर उनले महासचिव पदम पाण्डेमार्फत सभामुख पदका लागि मनोनयनपत्र बुझाएका हुन्।
उम्मेदवारी दर्ताको क्रममा पार्टी सभापति रवि लामिछाने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सहित रास्वपाका सांसदहरूको उपस्थिति रहेको थियो।
रास्वपाको प्रतिनिधिसभामा करिब दुई तिहाइ अर्थात् १ सय ८२ सिट रहेकोले अर्याल सभामुख बन्ने लगभग निश्चित मानिएको छ। सभामुख पदका लागि निर्वाचन चैत २२ गते हुने तय गरिएको छ।
यसअघि डोलप्रसाद अर्याल ले पार्टी सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला पार्टीको नेतृत्व सम्हालेका थिए। साथै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।