काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्न लागेको विषयप्रति खुशी व्यक्त गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निधिले पहिलोपटक मधेसी मूलका व्यक्ति नेपालको प्रधानमन्त्री बन्न लागेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ। पहिलोपटक एउटा मधेसी व्यक्ति प्रधानमन्त्री हुँदैछ।”
निधिले यस घटनालाई ऐतिहासिक राजनीतिक रूपान्तरणको संज्ञा दिएका छन्। उनका अनुसार यो केवल पुस्तान्तरण नभई देशको राजनीतिक संरचनामा आएको गहिरो परिवर्तन हो। “यो असली र ऐतिहासिक राजनीतिक रूपान्तरण हो, पुस्तान्तरण मात्र होइन। देशी र विदेशी सबैले यो सत्यलाई संज्ञानमा राख्नुपर्छ,” उनले भनेका छन्।
उनले प्रधानमन्त्री बन्न लागेका शाहलाई बधाई दिँदै व्यक्तिगत रूपमा आफू निर्वाचनमा पराजित भए पनि यस परिवर्तनप्रति खुशी व्यक्त गरेका छन्। “म चुनाव हारे पनि साह्रै हर्षित छु। बालेन शाहलाई बधाई छ!” उनले उल्लेख गरेका छन्।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निधि धनुषा–३ बाट पराजित भएका थिए। यद्यपि, उनले राजनीतिक पराजयलाई व्यक्तिगत रूपमा नलिएर मुलुकको व्यापक परिवर्तनलाई प्राथमिकता दिएको देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, बालेन शाहको सम्भावित प्रधानमन्त्री बन्ने प्रक्रियाले नेपालको राजनीतिक परिदृश्यमा नयाँ शक्ति सन्तुलन, वैकल्पिक नेतृत्व र समावेशी प्रतिनिधित्वको संकेत दिएको छ।
यस घटनालाई विशेषगरी मधेस क्षेत्र र युवापुस्ताका लागि राजनीतिक प्रतिनिधित्वको नयाँ अध्यायका रूपमा पनि हेरिएको छ।
