काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापा ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्।
यद्यपि, पार्टीले उक्त राजीनामालाई औपचारिक रूपमा सार्वजनिक भने गरिसकेको छैन। भोलि (६ चैत) बस्ने केन्द्रीय कार्यसमिति बैठकमा यस विषयमा विस्तृत छलफल हुने बताइएको छ। पार्टीका एक पदाधिकारीका अनुसार राजीनामा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्ने अन्तिम अधिकार केन्द्रीय कार्यसमितिसँग रहनेछ।
‘अबकि बार, सय पार’ भन्ने महत्त्वाकाङ्क्षी नारासहित चुनावी मैदानमा उत्रिएको कांग्रेस यसपटक भने अपेक्षित नतिजा ल्याउन असफल भएको छ। प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा खुम्चिएपछि पार्टीको संगठनात्मक क्षमता र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ।
विशेषगरी, सभापति थापा स्वयं सर्लाही–४ मा अमरेशकुमार सिंह सँग फराकिलो मतान्तरले पराजित भएपछि पार्टीभित्रैबाट नेतृत्वको प्रभावकारितामाथि आलोचना चुलिएको थियो। यसले राजीनामाको निर्णयमा थप नैतिक दबाब सिर्जना गरेको बुझिएको छ।
थापाले केही समयअघि सम्पन्न विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हालेका थिए, जहाँ शेरबहादुर देउवा समूहको असहमति र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबीच उनी सभापतिमा निर्वाचित भएका थिए। उक्त महाधिवेशनले पार्टीमा रूपान्तरणको आशा जगाए पनि त्यसलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन नसकेको विश्लेषण भइरहेको छ।
निर्वाचनपछिको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा चुनावी परिणामको गम्भीर समीक्षा हुने प्रवक्ता देवराज चालिसे ले जानकारी दिएका छन्। बैठकमा उपसभापति शर्माले निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
साथै, आगामी जेठभित्रै १५ औँ नियमित महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल हुने संकेत गरिएको छ। पार्टीभित्र अहिले दुई धार देखिएका छन्—एक पक्ष तत्काल नेतृत्व परिवर्तन गर्दै नयाँ दिशातर्फ अघि बढ्नुपर्नेमा जोड दिइरहेको छ भने अर्को पक्ष संगठनलाई थप बलियो बनाउन संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राखिरहेको छ।
गगन थापाको राजीनामाले कांग्रेसभित्र आत्मसमीक्षा, नेतृत्व पुनर्संरचना र भविष्यको रणनीतिबारे गहिरो बहस सुरु गराएको छ। अब केन्द्रीय कार्यसमितिको निर्णयले पार्टीको आगामी मार्गचित्र तय गर्नेछ।