काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार मंगलबारका दिन भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा विशेष फल प्राप्त हुने विश्वास रहेको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले गणेशको पूजा गर्ने परम्परा पनि यही कारणले चलिआएको मानिन्छ।
धार्मिक मान्यताअनुसार मंगलबार श्री गणेशको प्रिय दिन मानिन्छ। यस दिन शुद्ध मनले पूजा–आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। व्रत बसेर पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास पनि छ।
धर्मशास्त्रमा गणेश पूजाको विधि १६ चरणमा वर्णन गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, द्रव्य दक्षिणा, आरती तथा परिक्रमा समावेश हुन्छन्। यो पूजाविधि गर्नुअघि भक्तले शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्ने मान्यता छ।
मंगलबार गर्न नहुने काम
धर्मशास्त्र अनुसार मंगलबार केही कार्य नगर्नु उत्तम मानिन्छ।
कुखुरा वा अन्य पंक्षीको हत्या नगर्नु
माछा वा मासु सेवन नगर्नु
मदिरा सेवन नगर्नु
यी कार्य गर्दा जीवनमा समस्या बढ्न सक्ने धार्मिक विश्वास रहेको छ।
किन प्रिय छ गणेशलाई लड्डु ?
पुराणहरूमा वर्णन भएअनुसार एकपटक पार्वतीलाई देवताहरूले अमृतबाट बनाइएको दिव्य लड्डु दिएका थिए। लड्डु देखेर कार्तिकेय र गणेश दुवैले माग गरेपछि माताले एउटा शर्त राखिन्—जो पहिले सबै तीर्थ भ्रमण गरेर आउँछ उसैलाई लड्डु दिने।
कार्तिकेय मयुरमा सवार भएर तीर्थ भ्रमणमा निस्किए भने गणेशले आफ्ना माता–पितालाई नै परिक्रमा गरे। त्यसपछि पार्वतीले माता–पिताको पूजा सबै तीर्थभन्दा महान भएको बताउँदै लड्डु गणेशलाई अर्पण गरिन्। त्यसै कारण गणेशलाई लड्डु अर्पण गर्ने परम्परा बसेको मानिन्छ।
गणेशका विशेष नाम र अर्थ
धर्मशास्त्र अनुसार ‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ। त्यसैले गणेश बुद्धि र ज्ञानका प्रतीक मानिन्छन्। उहाँलाई विघ्नेश्वर, विनायक, गणनायक जस्ता नामले पनि पुकारिन्छ। उहाँलाई सबै विघ्नबाधा हटाउने देवताको रूपमा पूजा गरिन्छ।
गणेश पूजा गर्दा जप्ने मन्त्र
गणेश पूजा गर्दा यी मन्त्र जप्दा भगवान चाँडै प्रसन्न हुने विश्वास छः
श्री गणेशाय नमः
ॐ श्री गणेशाय नमः
गं गणपतये नमः
ॐ गं गणपतये नमः
ॐ गं ॐ गणाधिपतये नमः
ॐ सिद्धि विनायकाय नमः
ॐ गजाननाय नमः
ॐ एकदंताय नमो नमः
ॐ लंबोदराय नमः
ॐ वक्रतुंडाय नमो नमः
ॐ गणाध्यक्षाय नमः
धार्मिक विश्वासअनुसार मंगलबार श्रद्धापूर्वक गणेशको पूजा–आराधना गर्दा जीवनका बाधा हट्ने र सफलता प्राप्त हुने विश्वास रहेको छ।