काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनमा आफ्नो पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गरेका छन् । शनिबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विगतको निर्वाचनको तुलनामा यसपटक पार्टीका लागि वातावरण अनुकूल बन्दै गएको बताएका हुन् ।
उनका अनुसार पार्टी एकीकरणपछि संगठन मजबुत बनेको छ र यही कारण जनताको विश्वास तथा समर्थन बढिरहेको छ । राजनीतिमा सबैभन्दा महत्वपूर्ण कुरा मुद्दा, विचार र सिद्धान्त भएको उल्लेख गर्दै उनले राष्ट्रिय तथा स्थानीय मुद्दामा जसपा नेपाल स्पष्ट रहेको र ती विषयलाई लिएर जनतामाझ पुगेको बताए ।
अध्यक्ष यादवले जनताका समस्या, अधिकार र विकासका सवाललाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै यही कारण अहिले पार्टीप्रति आकर्षण बढेको जिकिर गरे । उनले आफ्नो पार्टी सधैँ जनताका मुद्दा उठाउने पक्षमा रहेको पनि बताए ।
नयाँ–पुराना पुस्ताबीच द्वन्द्व सिर्जना गर्ने प्रयासको आलोचना
यादवले नेपालको राजनीतिमा नयाँ र पुराना पुस्ताबीच कृत्रिम द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाए । पुराना नेतृत्व असफल र नयाँ पुस्ता अनुभवहीन भन्ने दुवै धारणा गलत र नियोजित रूपमा फैलाइएको उनको भनाइ थियो ।
उनका अनुसार देश विकासका लागि नयाँ र पुराना दुवै पुस्ता आवश्यक छन् । पुराना नेतृत्व अनुभवको स्रोत भएको भन्दै उनले त्यस अनुभवबाट नयाँ पुस्ताले सिक्नुपर्ने र नयाँ पुस्ताको ऊर्जा पुरानाले उपयोग गर्नुपर्नेमा जोड दिए ।
अनुभव र ऊर्जाको समन्वयबाट मात्रै मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिने उनको धारणा थियो । नयाँ र पुरानाबीच अनावश्यक द्वन्द्व सिर्जना गर्नु लोकतान्त्रिक मूल्य र संस्कृतिविरुद्ध भएको उनले बताए ।
लोकतन्त्र नेतृत्व रूपान्तरणको आधार
अध्यक्ष यादवले लोकतन्त्र स्थापना नै नेतृत्व रूपान्तरणका लागि भएको उल्लेख गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रक्रिया स्वाभाविक भएको बताए । लोकतन्त्र परिवर्तनको आधार भएको भन्दै उनले पुराना पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनु लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको धारणा राखे ।
उनले लोकतन्त्रका लागि विगतमा भएका संघर्ष, त्याग र आन्दोलनको स्मरण गर्दै नयाँ नेतृत्व विकासलाई सबैले सहयोग गर्नुपर्ने बताए । देशको समृद्धि, राजनीतिक स्थिरता र सामाजिक न्यायका लागि सबै पुस्ताबीच सहकार्य आवश्यक रहेको उनको निष्कर्ष थियो ।
अध्यक्ष यादवले आगामी निर्वाचनमा जसपा नेपाल जनताका मुद्दा, अधिकार र विकासका एजेन्डा लिएर अघि बढ्ने बताउँदै जनसमर्थन अझै विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।