Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा चुनावी सरगर्मी — पर्यटन, कृषि, रोजगारी र पूर्वाधार मुख्य चुनावी एजेण्डा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २९ २०८२
  • 2.1K
    SHARES

काठमाडौं । फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरू गण्डकी प्रदेशका गाउँ–बस्तीमा पुगेर मतदाता रिझाउने अभियान तीव्र बनाएका छन् । हिमाल, पहाड र तराई समेटिएको गण्डकी प्रदेश देशको मध्यभागमा पर्ने भएकाले यहाँका राजनीतिक, सामाजिक र आर्थिक गतिविधिलाई देशकै प्रतिनिधि अवस्थाका रूपमा हेरिन्छ ।

मनाङ, मुस्ताङजस्ता हिमालपारिका जिल्ला, कास्की, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, पर्वतजस्ता पहाडी क्षेत्र हुँदै तराईको नवलपुरसम्म फैलिएको यो प्रदेश ११ जिल्लामा विभाजित छ । उत्तरतर्फ चीनसँग जोडिएको कोराला नाका र दक्षिणतर्फ भारतसँगको त्रिवेणी सीमाका कारण गण्डकी प्रदेशलाई दुवै छिमेकी राष्ट्रसँग सिधा पहुँच भएको प्रदेशका रूपमा पनि लिइन्छ । यही कारण यहाँका चुनावी मुद्दा र विकास प्राथमिकता राष्ट्रिय महत्वका विषयसँग जोडिने गरेका छन् ।

प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा दल र उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय भइरहँदा मतदाताले विकास, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार निर्माणका विषयमा स्पष्ट प्रतिबद्धता खोजिरहेका छन् । विशेषगरी हिमाली क्षेत्रका बासिन्दाले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

मुस्ताङको ठिनीका युवा निरज थकालीका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा कृषि प्रणाली प्रभावित भइरहेको छ । विगतमा हुने गरेको खेतीपाती घट्दै गएको, मौसमको अनियमितता बढेको र पानीका स्रोतमा परिवर्तन आएको उनले बताए । किसानहरूले भोगिरहेका समस्यालाई सम्बोधन गर्न राज्यले कृषि क्षेत्रमा विशेष लगानी गर्नुपर्ने माग स्थानीयवासीले उठाएका छन् ।

हिमाली क्षेत्रमा २०३२ सालदेखि अव्यवस्थित जग्गाको नापी हुन नसकेको र भूमिहीन सुकुम्बासीहरू समस्या झेलिरहेको स्थानीयको भनाइ छ । सम्पन्न व्यक्तिहरूले स्याउजस्ता व्यावसायिक खेती गरे पनि भूमिहीन वर्ग त्यसबाट वञ्चित भएको गुनासो छ ।

पर्यटनका दृष्टिले अत्यन्त सम्भावना भए पनि त्यसको समुचित उपयोग हुन नसकेको स्थानीयको भनाइ छ । विशेषगरी उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम गरिँदा विदेशी पर्यटक आगमन प्रभावित भएको उनीहरूको धारणा छ । यस क्षेत्रका लागि जलवायु परिवर्तन न्यूनीकरण, कृषि विकास र पर्यटन प्रवर्द्धन प्रमुख चुनावी मुद्दा बनेका छन् ।

गण्डकी प्रदेशको आर्थिक ‘लाइफलाइन’ मानिएको कोराला नाका प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग पर्यटन व्यवसायीले उठाएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार चीनसँगको सीधा सम्पर्क रहेको उक्त नाका व्यवस्थित सञ्चालन गर्न सके प्रदेशको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिमा योगदान पुग्न सक्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने माग पनि व्यवसायीहरूले गरेका छन् ।

प्राकृतिक तथा धार्मिक पर्यटनका दृष्टिले गण्डकी प्रदेश अत्यन्त समृद्ध मानिन्छ । मुस्ताङको लोमान्थाङ, मनाङको तिलिचो ताल, कास्कीको फेवाताल, तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, गोरखाको मनकामना मन्दिर र गोरखा दरबार, नवलपुरका गोरक्षमोक्षधाम, कैलाश आश्रम, वाल्मीकि आश्रम, मौलाकालिका, लमजुङको कालिका, तनहुँको देवघाटलगायत क्षेत्र प्रमुख पर्यटकीय आकर्षण हुन् ।

त्यसैगरी स्याङ्जाको आलमदेवी, बागलुङको कालिका, नवलपुरका विभिन्न धार्मिक स्थलहरूलाई अझ व्यवस्थित रूपमा विकास गर्नुपर्ने माग मतदाताले उठाएका छन् । नदीनाला, हिमशृङ्खला, मठमन्दिर र प्राकृतिक दृश्यावलोकनका गन्तव्यहरूले पर्यटक आकर्षित गरिरहे पनि पूर्वाधार अभावले सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको स्थानीयको भनाइ छ ।

साहसिक पर्यटनमा पनि गण्डकी प्रदेश अग्रणी मानिन्छ । पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता गतिविधि सञ्चालनमा छन् भने पर्वत र बागलुङ क्षेत्रमा अग्ला झोलुङ्गे पुल र बञ्जी पर्यटन आकर्षणका रूपमा विकास भइरहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी तथा माछापुच्छ्रे पदमार्ग, धौलागिरि पदमार्ग र मिलेनियम ट्रेकजस्ता पदयात्रा मार्गहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन् ।

कास्की, लमजुङ र मनाङ जोड्ने गुरुङ सम्पदा पदमार्ग पछिल्लो समय नयाँ आकर्षणका रूपमा विकास हुँदै गएको पर्यटन व्यवसायीहरूले बताएका छन् । गाउँ पर्यटनअन्तर्गत सिरुवारी, घलेगाउँ, ढोरपाटन, अमलटारी, पिपरहजस्ता घरवास कार्यक्रमले पनि स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्‍याइरहेका छन् ।

कृषि क्षेत्र पनि गण्डकी प्रदेशको महत्वपूर्ण सम्भावना भएको क्षेत्र मानिन्छ । हिमाली क्षेत्रमा स्याउ खेतीदेखि तराईको नवलपुरमा धान, गहुँ, तरकारी उत्पादनसम्म विविध कृषि सम्भावना रहेको विज्ञहरूको भनाइ छ । तर कृषिमा राज्यको पर्याप्त लगानी र प्रोत्साहन अभावका कारण धेरै सम्भावना उपयोग हुन नसकेको कृषकहरूको गुनासो छ ।

कास्कीका अगुवा कृषक रमेश आचार्यका अनुसार सिँचाइ व्यवस्थापन, नदी कटान नियन्त्रण र आधुनिक कृषि प्रविधि अभावले कृषकहरू समस्यामा छन् । कृषिमैत्री नीति, अनुदान र बजार व्यवस्थापन भए प्रदेशले अन्य प्रदेशमा समेत खाद्यान्न आपूर्ति गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

पछिल्ला वर्षहरूमा बाँदरको समस्या पनि कृषकका लागि गम्भीर चुनौती बनेको छ । खेतीपातीमा ठूलो क्षति भइरहेको भन्दै कृषकहरूले यसको नियन्त्रणका लागि राज्यले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् ।

पूर्वाधार विकासको विषय पनि चुनावी एजेण्डामा प्रमुख रूपमा उठेको छ । नवलपुरका बासिन्दाले प्रदेश राजधानी पोखरा पुग्न अझै बागमती प्रदेश हुँदै घुमेर जानुपर्ने बाध्यता अन्त्य गर्न माग गरेका छन् । नवलपुरबाट तनहुँको भिमाद हुँदै पोखरा जोड्ने सडक व्यवस्थित रूपमा सञ्चालन गर्न सके प्रदेशभित्र आवागमन सहज हुने स्थानीयको भनाइ छ ।

रोजगारी सिर्जना अर्को प्रमुख चुनावी मुद्दा बनेको छ । युवाहरू विदेश पलायन हुने क्रम बढिरहेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न राज्यले ठोस नीति ल्याउनुपर्ने माग मतदाताले उठाएका छन् ।

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । तीमध्ये महिला नौ लाख ५५ हजार ५१६, पुरुष नौ लाख १४ हजार ५३५ र अन्य १४ जना मतदाता रहेका छन् । १८ निर्वाचन क्षेत्रमा २१ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेशमा सबैभन्दा कम मतदाता मनाङ जिल्लामा छ हजार ८४९ जना रहेका छन् भने सबैभन्दा बढी मतदाता कास्की जिल्लाका तीन निर्वाचन क्षेत्रमा दुई लाख ९३ हजार ८८ जना रहेका छन् । कास्कीमा १५० मतदानस्थल निर्धारण गरिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा गण्डकी प्रदेशका मतदाता विकास, रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण र जलवायु परिवर्तन न्यूनीकरणजस्ता मुद्दामा केन्द्रित देखिएका छन् । उम्मेदवारहरूले यी मुद्दामा कत्तिको ठोस प्रतिबद्धता जनाउँछन् भन्ने विषयले आगामी निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४