कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले चुनावी अभियानलाई सक्रिय बनाइरहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ ।
कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेता आले पछिल्ला केही हप्तादेखि गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्ती पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनुभएको छ । उहाँले घरदैलो कार्यक्रममार्फत स्थानीय जनताका समस्या, आवश्यकता तथा अपेक्षाबारे प्रत्यक्ष जानकारी लिइरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।
चुनावी अभियानका क्रममा उहाँले कार्यकर्ता भेटघाट, जनतासँग अन्तरक्रिया, घरदैलो कार्यक्रम तथा विभिन्न संवाद कार्यक्रमलाई निरन्तरता दिइरहनुभएको छ । विगतमा सरकारमा रहँदा आफूले गरेका विकास निर्माणका कामलाई आधार बनाएर आगामी कार्यकालका स्पष्ट योजना सार्वजनिक गर्दै मतदाताको विश्वास जित्ने प्रयास भइरहेको बताइएको छ ।
आफ्ना प्रमुख चुनावी प्रतिबद्धताबारे जानकारी दिँदै नेता आलेले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने, गेटा मेडिकल कलेजमा एमबीबीएस तहको पठनपाठन सुरु गराउने तथा फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै आउनुभएको छ । साथै धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने कार्यलाई पूर्णता दिने योजना पनि उहाँले अघि सार्नुभएको छ ।
त्यसैगरी धनगढीको जिरो प्वाइन्टबाट खुटिया, दिपायल हुँदै बझाङको उरै भञ्ज्याङसम्म जोड्ने रणनीतिक सडक निर्माणलाई पनि आफ्नो प्रमुख एजेन्डा बनाएको उहाँले स्पष्ट पार्नुभएको छ । “धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै सुदूरपश्चिमका दुर्गम जिल्लालाई सडक सञ्जालमार्फत जोड्नु मेरो सपना हो,” नेता आलेले भन्नुभयो, “यी काम पूरा गर्नकै लागि म पुनः जनताको मत माग्दै चुनावी मैदानमा आएको हुँ ।”
आगामी निर्वाचनका लागि कैलाली–५ मा कुल १५ जनाको उम्मेदवारी परेको छ । प्रमुख राजनीतिक दलहरूले प्रभावशाली उम्मेदवार मैदानमा उतारेका कारण यस क्षेत्रको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । नेकपाबाट प्रेमबहादुर आले, नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेकपा (एमाले) बाट यज्ञराज ढुंगाना तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्दबहादुर चन्द प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
नेता आले यसअघि डोटी जिल्लाबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका नेता हुनुहुन्छ । उहाँ २०७० र २०७४ सालमा नेकपा (एमाले) बाट तथा २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित हुनुभएको थियो । विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँ यसपटक नयाँ निर्वाचन क्षेत्र कैलाली–५ बाट चुनावी मैदानमा उत्रिनुभएको हो ।
चुनावी अभियानका क्रममा उहाँले मन्त्री हुँदा कैलाली जिल्लाका लागि गरेका विकास कार्यहरूलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । विकासका योजना, राजनीतिक अनुभव तथा क्षेत्रीय विकासको प्रतिबद्धतालाई आधार बनाएर उहाँले चुनावी अभियानलाई थप प्रभावकारी बनाइरहनुभएको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा कैलाली–५ मा राजनीतिक गतिविधि अझ सक्रिय बन्दै गएको छ । विभिन्न दलका उम्मेदवारहरूले जनतासँग प्रत्यक्ष संवाद, विकास एजेन्डा र राजनीतिक प्रतिबद्धता प्रस्तुत गर्दै मतदाता आकर्षित गर्ने प्रयासलाई तीव्र बनाएका छन् । यस निर्वाचन क्षेत्रको अन्तिम परिणामलाई सुदूरपश्चिमकै राजनीतिक सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ ।