Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रतको विधिपूर्वक समापन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १९ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिनासम्म श्रद्धा र नियमका साथ मनाइने स्वस्थानी व्रत कथा विधिपूर्वक समापन हुँदैछ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको यो व्रत वैदिक सनातन हिन्दू परम्पराअनुसार घरघरमा आयोजना गरिएको हो।

पौष शुक्ल पूर्णिमादेखि नै भक्तजनहरूले नित्य मध्याह्नकालमा पार्वतीसहित भगवान शिवको पूजा गर्दै स्वस्थानी व्रत कथा पाठ गर्दै आएका थिए। स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा आधारित कुमार र अगस्त्यबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजकै दिन समाप्त हुँदैछ।

धार्मिक विधिअनुसार एक महिनासम्म विधिपूर्वक व्रत बसेका व्रतालुहरूले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न प्रकारका फलफूल, धूप, दीप, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र तथा भेटी अर्पण गरी देवी स्वस्थानीलाई अर्घ्य चढाउने परम्परा छ। व्रत सफल होस् र मनोकामना पूर्ण होस् भन्ने कामनासहित यो पूजा गरिन्छ।

चढाइएका प्रसादमध्ये प्रत्येक सामग्रीबाट आठ–आठ भाग पतिलाई दिने चलन छ। पति नभए छोरा, छोरा पनि नभए मित छोरा र त्यो पनि नभए व्रत सिद्धिको कामनासहित नजिकको पवित्र नदीमा सेलाउने धार्मिक विधि रहेको छ।

व्रत समापनको अघिल्लो रात व्रतालुहरूले फलाहार मात्र गरी जाग्राम बस्ने परम्परा छ। जाग्रामका क्रममा देवी स्वस्थानीको माहात्म्य सुन्ने र सुनाउने गरिन्छ। यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

धर्मशास्त्र अनुसार ‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। स्वस्थान अर्थात् आफ्नै आत्मा र चेतनासँग सम्बन्ध जोड्ने साधनाका रूपमा स्वस्थानी व्रतलाई लिइन्छ। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त हुने भएकाले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधि स्वस्थानी व्रतका लागि उत्तम मानिन्छ।

धार्मिक वर्णनअनुसार स्वस्थानी देवी सुवर्ण वर्णकी, तीन नेत्र भएकी, प्रसन्न मुद्रामा कमल तथा सिंहासनमा आसीन चार हातधारी देवी हुन्। उनका एक हातमा नीलकमल, अर्को हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा रहेको उल्लेख व्रतकथामा गरिएको छ।

स्वस्थानी व्रतको विधिपूर्वक पालन गरेमा छुट्टिएका जोडी पुनः मिल्ने, रोगव्याधि निको हुने तथा इच्छाअनुसार जीवनसाथी प्राप्त हुने विश्वास प्रचलित छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पति पाउन विष्णुको निर्देशनमा स्वस्थानी व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतको प्रभावले नाग–नागिनीको पुनर्मिलन भएको प्रसंगसमेत कथामा समावेश छ।

इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको व्रतविधि अनुसार स्वस्थानी व्रत गरेपछि पुत्र वियोगबाट मुक्ति पाएकी थिइन्। व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देश, हालको साँखु क्षेत्रका राजा बनेको उल्लेख स्वस्थानी कथामा पाइन्छ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नकालपछि विधिपूर्वक पूजा सम्पन्न गरी राति जाग्राम बसेर बिहीबार बिहान फूलपाती पवित्र नदीमा सेलाएपछि यस वर्षको स्वस्थानी व्रत पूर्ण रूपमा समापन हुनेछ।

यसैबीच, काठमाडौँ उपत्यकाको पूर्वी क्षेत्रस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञसहित समापन गरिँदैछ। शालिनदी क्षेत्रमा करिब १६२ महिला र १५ पुरुषले एक महिनासम्म कठोर माधवनारायण व्रत गरेका छन्। आजकै दिन नेवार समुदायले सि पुन्हिका पर्वसमेत श्रद्धापूर्वक मनाउँदै छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४