फुटबलबाहेक अरू केहि सोच्न सक्दिनँ : मिडफिल्डर अनिता बस्नेत
तेह्रथुममा फुटबलको माहोल राम्रै थियो। विद्यालयमा विद्यार्थीहरूको लागि फुटबल पहिलो रोजाइको खेल हुन्थ्यो। विद्यालयमा आफूभन्दा सिनियहरूले फुटबल खेलेको देखेकी अनिता बस्नेत पनि फुटबलप्रति आकर्षित थिइन्।
‘जिल्लामा धेरै खेल खेलिन्थे। तर मलाई फुटबल औधी मन पर्थ्यो। अरु खेलभन्दा फुटबल सुन्दर लाग्यो। बुझ्न पनि सजिलो, सबैले मन पनि पराउने,’ हाल नेपाली राष्ट्रिय महिला टिमकी प्रभावशाली मिडफिल्डर अनिता बस्नेत आफ्नो बाल्यकाल सम्झन्छिन्।
आफूभन्दा सिनियरले राष्ट्रिय टिमबाट खेलेको हेरेर हुर्किएकी अनिताको फुटबल यात्रा संघर्षले भरिएको छ। फुटबल खेल्ने उत्कट इच्छाका कारण उनले अनेकौ अप्ठ्यारालाई पार लगाउँदै राष्ट्रिय फुटबलरको परिचय बनाइन्।



बाल्यकालमै फुटबलप्रतिको प्रेम त थियो तर समाजमा केटी भएर फुटबल खेल्नु सजिलो कुरा थिएन। तर परिवारले उनको फुटबल खेल्ने चाहनालाई समर्थन गर्यो। परिवारको सहयोग पाएपछि अप्ठ्यारा पार गर्न सजिलो बन्यो।
‘मेरो बुबाआमाले मलाई फुटबल खेल्न कहिल्यै रोक्नु भएन। उहाँहरूले फुटबल खेल्दाको सुरूवाती दिनमा धेरै सहयोग गर्नुभयो,’ अनिता भन्छिन्।
फुटबलप्रतिको लगाव भएकी अनिताले केहि समयपछि प्रतिभा देखाउने मञ्च फेला पारिन्। उनले जिल्लास्तरमा राम्रो खेलाडीको परिचय बनाइन्। उनले स्थानीय क्लबबाट जिल्ला स्तरिय प्रतियोगिताको उपाधि उचाल्ने अवसर पाइन्।
सन् २०१२ को छैटौं राष्ट्रिय खेलअघि उनी क्षेत्रीय छनोटमा परिन्। विराटनगरमा खेल्दै गर्दा सशस्त्र प्रहरी बलका डिएसपी प्रेम श्रेष्ठको नगरमा परिन्। श्रेष्ठले अनितालाई सशस्त्रको एपिएफ क्लबबाट खेल्नका लागि प्रस्ताव गरे। उनका लागि त्यतिबेला निकै आकर्षक प्रस्ताव थियो। स्विकार नगर्ने कुरै थिएन।
एपिएफबाट दुई वर्ष राष्ट्रिय स्तरको फुटबल खेलेपछि उनी सन् २०१४ मा राष्ट्रिय टिममा पर्न सफल भइन्। सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसिपका लागि घोषणा गरिएको राष्ट्रिय टिममा अनिताले स्थान बनाएकी थिइन्। त्यसयता उनले राष्ट्रिय टिमबाट २६ खेल खेलेकी छिन् भने दुई अन्तर्राष्ट्रिय गोल गर्न सफल भएकी छिन्।
उनी माल्दिभ्स र भारतमा व्यावसायिक फुटबल खेल्न पुगिसकेकी छिन्। उनले माल्दिभ्समा माल्दिभ्स पुलिस टिमबाट फुटसल खेलेकी थिइन्। उनले सो टिमका लागि ११ गोल गरेकी थिइन्।
भारतको महिला आइ लिगमा उनले सेथु एफसीबाट दुई सिजन खेलिसकेकी छिन्। सन् २०१९ को सिजनमा अर्की नेपाली स्ट्राइकर सावित्रा भण्डारी पनि आबद्ध सेथुले आइ लिगको उपाधि जितेको थियो। २०२० को सिजनमा भने सेथुले उपाधि जित्न सकेन।
देश र क्लबका लागि ११ नम्बरको जर्सी लगाउने अनिताले सन् २०१९ मा भारतमा भएको गोल्डकपमा इरानविरुद्ध राष्ट्रिय टिमका लागि डेब्यू गोल गरेकी थिइन्। राष्ट्रिय टिमका लागि पहिलो गोल गरेको क्षण उनका लागि फुटबल करिअरको सबैभन्दा खुसीको क्षण हो।
नेपालले अहिलेसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेकोमा उनलाई दु:ख छ। सन् २०१० देखि नेपालले अहिलेसम्म चार पटक फाइनलमा स्थान बनाइसकेको छ। तर चारै पटक फाइनलमा भारतसँग पराजित हुँदा नेपाल उपाधिबाट बञ्चित छ।
अनिता नेपालको महिला फुटबलको स्तर बढ्दै गएको बताउँछिन्। तर पनि टिममा सुधार गर्नु पर्ने स्थान धेरै रहेको उनको भनाइ छ।
अनिता फुटबल खेल्न मन रमाइलो मान्छिन् र सकुन्जेल फुटबल खेल्ने बताउँछिन्।
‘फुटबल बाहेक अरु सोच्न सक्दिन। शरीरले साथ दिउन्जेल फुटबल खेल्छु,’ उनले भनिन्। उनी आफूलाई फुटबलरको रुपमा चिनाउन पाउँदा गर्व गर्छिन्। उनका बुबाआमा पनि उनी राष्ट्रिय फुटबलर बनेकोमा गर्व गर्छन्।
-द एन्फा डट कममा प्रकाशित आर्टिकलको भावानुवाद